१० आश्विन २०७७, शनिबार

छ सय वर्ष पुरानो गद्दी बैठकमा यसरी घोषणा गरियो पिर महन्त

भक्तपुर । यक्ष मल्लको पालामा निर्माण भएकोे गुरु दत्तात्रय मन्दिरसँगैको दत्तात्रय पुजारी मठको गद्दी बैठक कक्ष । सोही कक्षको भित्ता तथा कलात्मक थाम र निदालमा ६०० वर्ष पुरानो धार्मिक कथा बोकेका आकर्षक बहुमूल्य चित्रहरु– विष्णु भगवाणको दशावतार, अष्टमातृका, दुर्गा भवानीले महिषासुरको बध गरेको आदि छन् ।

दत्तात्रयस्थित पुजारी मठको ६०० वर्ष पुरानो गद्दी बैठकको यही कलात्मक कक्षमा सयाँै वर्ष पुरानो परम्पराअनुसार भक्तपुरको दशनामी सम्प्रदायका देशभरका महन्तहरुको प्रमुख मानिने पिर महन्त घोषणा गरिएको छ । भक्तपुरको प्रसिद्ध गुरुदत्तात्रय अखडाका पिर महन्त (महन्तका प्रमुख) राजेन्द्रप्रसाद गिरीको निधन भएपछि दत्तात्रय मन्दिरसँगै रहेको गुरुदत्तात्रय मठको गद्दी बैठकमा स्व गिरीका ज्येष्ठ सुपुत्र राजीव गिरीलाई पिर महन्त घोषणा गरिएको हो ।

यसरी हजारौँ वर्ष पुरानो परम्परालाई निरन्तरता दिँदै धार्मिक नीति नियम, परम्परानुसार पिर महन्त घोषणा गरी भक्तपुर परिक्रमा गराइएको छ । दशनामी सम्प्रदायका महन्तका प्रमुखलाई पिर महन्त, त्यसभन्दा तल शिर महन्त र प्रत्येक मठका प्रमुखलाई महन्त भन्ने प्रचलन रहेको छ । पिर महन्तको निधन भएपछि आशोच बार्ने १२ दिनसम्म ब्रह्मा, विष्णु र महेश्वरअर्थात् त्रिदेवको एउटैस्वरुप मानिने प्रसिद्ध, गुरुदत्तात्रय मन्दिरमा नियमित पूजाबाहेक भजन, घण्टा, नगरा, शंख बजाउन नहुने प्रचलन रहेको सम्पदा एवं संस्कृतिविद् रवीन्द्र पुरी बताउनुहुन्छ ।

सयौँ वर्ष अगाडिको धार्मिक विधिनुसार पिर महन्तको निधन भएको १३ औं दिनमा देशभरका हजारौँ महन्त, पशुपतिनाथलगायत विभिन्न ठाउँबाट आएका सन्यासी जोगीहरुको सहभागितामा दत्तात्रयको दाफा, धिमे, ढलचा, तुराई (नागफणी) लगायतका बाजा बजाएर, रातो झल्लर छाता ओढाएर भक्तपुरको दूधपाटीदेखि सिन्दूर जात्रा गरी भक्तपुर देश परिक्रमा गराउदै दत्तात्रय ल्याएर गद्दी बैठकमा राखेर दत्तात्रयकोे थाली, छडीसहित पुजारीबाट मन्दिरको फूल, प्रसाद, जलले अभिषेक गरेपछि शिर महन्तले चादर ओढाएर पिर महन्त घोषणा गर्ने प्रचलन रहेको छ ।

यसअघि पनि उहाँको जिजुबाजे कालिकाप्रसाद गिरी, उहाँको हजुरबुबा विश्वम्भरप्रसाद गिरी र उहाँको हालै दिवंगत हुनुभएका बुबा राजेन्द्रप्रसाद गिरीलाई पनि यही परम्परानुसार भव्यताका साथ पिर महन्तको अभिषेक गराइएको थियो । यस वर्ष पनि भव्य रुपमा उत्सव गरिने तयारी गरिए पनि कोरोना सङ्क्रमण र लकडाउनका कारण उत्सव मनाउन भने सकिएन । कोरोना सङ्क्रमणका कारण यसपटक वर्षौं पुरानो परम्परालाई औपचारिकतामा मात्रै सीमित गरिएको छ ।

काठमाडौँ उपत्यका भित्रका सीमित महन्त र जोगीको सहभागितामा अन्य विधि परम्परा पुर्याएर दत्तात्रयका पुजारीबाट फूल प्रसाद, जलबाट अभिषेक गरेपछि शिर महन्त राम पुरीले चादर ओढाएर पिर महन्त घोषणा गर्नुभएको सम्पदाविद् एवं संस्कृतिविद् पुरीले बताउनुभयो । त्यसपछि अरु महन्तले चाँदर ओढाएर महन्तका प्रमुख मान्दै बधाई एवं शुभकामना दिने प्रचलन रहेको छ ।

पुरीले भन्नुभयो, “राजाको राज्यरोहण गरेजस्तै महन्तको अभिषेक गरिन्छ, विसं २०३४ मा राजेन्द्रप्रसाद गिरीलाई पनि हजाराँैको सहभागितामा भव्य रुपमा उत्सवका साथ पिर महन्त घोषणा गरिएको थियो । चौँतीस वर्षपछि भएको महन्तको ऐतिहासिक यो परम्परा यस वर्ष कोरोनाका कारण विधि र परम्परामा सीमित गर्नुपरेको छ ।” पिर महन्तलाई अभिषेक गरेपछि गणेश, भीमसेन, नारायणथानलगायतका मन्दिर परिक्रमा गराई दत्तात्रय मन्दिर प्रवेश गरी पिर महन्तले आरती गरी घण्टा बजाएपछि मात्रै दत्तात्रय मन्दिरमा १३ दिनसम्म रोकिएका भजन, घण्टा, नगरा बजाउन शुरु गरिएको थियो ।

मठ सम्हाल्दै आउनुभएका अर्का महन्त सुमन गिरीले देशैभरिका मठाधीसहरुको प्रमुख पिर महन्त हुने परम्पराअनुसार राजीव गिरीलाई गद्दी आसनमा राखेर अभिषेक गराई पिर महन्त घोषणा गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँका हजुरबुबा विश्वम्भर गिरीलाई भक्तपुरको टँुडिखेलदेखि हजारौँको सहभागितामा बाजागाजाका साथ दत्तात्रय ल्याएर भव्य समारोहमा पिर महन्त घोषणा गरिएको थियो, उहाँका पिता राजेन्द्रलाई पनि भक्तपुरको सल्लाघारीदेखि हजाराँैको सहभागितामा बाजागाजासहित दत्तात्रय ल्याइएको थियो, यस वर्ष भने कोरोनाका कारण परम्परामा मात्र सीमित गर्नुपर्यो ।”

प्रत्येक मठमा भगवान शिवको मन्दिर हुने गर्दछ । जसमा बिचमा महादेव, वरिपरि नैऋत्यमा गणेश, वायव्यमा देवी, ईशानमा विष्णु, आग्नेय कोणमा सूर्य रहेको पाञ्चायन मन्दिर रहेन गर्दछ । गुरुदत्तात्रय मठअन्तर्गतका भक्तपुरभित्र रहेका पुजारी मठ, क्वाठण्डौं मठ, ताजा मठ, दथु मठ, पुरानचोटा मठ, सिठु मठ, सुकुलढोका मठ, इखालछी मठ, धतखा मठ, गुचाटो मठ, चिकंफले मठ, कुठु मठ, जंगम मठ, गोदावरी मठ, ग्वाल्दा मठ, थाकल मठ गरी १६ वटा मठ रहेका छन् भने काठमाडांँै, ललितपुरसहित देशभर हजारौँ मठ र महन्तहरु रहेका छन् ।

पुजारी मठलाई नेपालभरिकै सबैभन्दा कलात्मक तथा सुन्दर निवासास्थानको रूपमा लिइन्छ । पिर महन्तको यो निवासास्थान अरूहरूको निवासस्थानको तुलनामा निकै नै भव्य छ । पुजारी मठमात्र होइन नेपालभरिकै मठहरूलाई सुन्दर निवासस्थानको रूपमा लिन सकिन्छ । नेपालका सांस्कृतिक सम्पदामा मठहरूको धेरै ठूलो देन छ । सयौँ वर्षसम्म पनि यी मठहरू संरक्षित हुनुमा महन्तहरूको धेरै ठुले देन त छ नै त्यसदेखि बाहेक दशनामी सम्प्रदायको मठ एकल स्वामित्वमा रहनुपर्ने परम्पराले पनि धेरै ठूलो देन पुर्याएको छ ।

दशनामी सम्प्रदायले देशैभरिका धेरै मन्दिर एवं मठहरु सम्हाल्दै आएको र स्वर्गद्धारीदेखि हलेसीसम्म हजारौँ मठहरु रहेको उहाँको भनाइ छ । पछिल्लो समयमा भने मठहरुमा विभिन्न तत्वको नगर लाग्ने गरेकोमा चिन्ता व्यक्त गर्दै उहाँले दशनामीलाई सयौँवर्ष अघिदेखि नै मठ, मन्दिरको संरक्षणको जिम्मा दिएकाले यसको संरक्षणमा दशनामी लाग्नुपर्ने बताउनुहुन्छ । मठ, मन्दिर, धर्म, संस्कृति र परम्पराको संरक्षणको जिम्मेवारी दशनामी सन्यासीलाई आदीगुरु शंकराचार्यले दिएको शास्त्रमा उल्लेख छ ।

ईस्वी संवत ७८८ मा जन्मी सारा जगतमा वैदिक सनातन धर्मको प्रचार गरी यसको रक्षामा खटिनुभएका आदीगुरु शंकराचार्यले इसं ८२० मा ३२ वर्षको उमेरमा देहत्याग गर्नुभएको थियो । वैदिक सनातन धर्मको प्रचारप्रसार गर्दै अन्य विभिन्न धर्मालम्बीलाई शास्त्रार्थ गरेर परास्त गर्दै भारतवर्षमा चार दिशामा पर्ने गरी चार मठ र चार शंकराचार्य (जगतगुरु) हरुको स्थापना उहाँले गराएको शास्त्रमा उल्लेख रहेको छ ।

शंकराचार्यले दश आश्रमबाट दशजना ‘सन्यासी’ चारै मठमा विभक्त गरी गिरी, पुरी, भारती, वन, पर्वत, सागर, सरस्वती, आरण्य, आश्रम र तीर्थलाई खटाएको पाइन्छ । ‘श्रीमत् भागवत यथारुप’ मा प्रभुपादले पेज नं ७७३ र ७७७ मा वैदिक सनातन धर्म परम्पराअनुसार समाजका मानिसलाई वर्णाश्रम व्यवस्थामा ‘सन्यासी’लाई नै सवै समाजका ‘वर्ण’ तथा आश्रमका प्रधान गुरु भनेको पाइन्छ ।

आदीगुरु शंकराचार्यले नै दशनामीमा गिरी, पुरी, भारती, वन, पर्वत, सागर, सरस्वती, तीर्थ, आरण्य, आश्रम नामाकरण गरी चारै दिशामा रहेका आफ्ना चारवटा पीठको जिम्मेवारी दिएको शास्त्रमा उल्लेख रहेको छ । नेपाल र भारतमा रहेका दशनामी महन्तहरुलाई मठहरुको जिम्मेवारी दिने र मठसँगै मन्दिर, धर्म, परम्परा, संस्कृति र सनातन हिन्दू धर्मको रक्षार्थ शंकराचार्यले खटाएपछि आजसम्म पनि दशनामीहरुले यसको जिम्मेवारी सम्हाल्दै आएका छन् तर पछिल्लो समय मठको सम्पत्तिको अतिक्रमण हुने गरेको छ भने कतिपय पत्तै नदिई बिक्री भएको पनि पाइएको छ ।

मठमा समेत स्थानीय तह र पुरातत्वले आँखा गाड्न थालेपछि यसको अस्तित्व मेटिने खतरा बढ्दै गएको छ । भक्तपुरकै कतिपय मठमा पनि स्थानीय तहले विभिन्न बहानामा कब्जा गर्न थालेका छन् भने पुरातत्वले समेत आफ्नो कब्जामा लिएर गलत सन्देश दिन थालेका छन् । पुरातत्व विभागले ताल्छा मार्न थालेको मठको संरक्षणमा भने चासो दिएको छैन । मठलाई पर्यटकीय क्षेत्र बनाउँदै यहाँका कला, कृति देखाउन पर्यटकसँग शुल्क असुल्ने पुरातत्व विभागले यहाँको मठको संरक्षणमा चासो दिएको पाइँदैन ।

न त नगरपालिकासँग टिकट शुल्क असुल्ने नगरपालिकाले नै यसको संरक्षणमा चासो दिएको पाइन्छ । दत्तात्रयको पुजारी मठभित्र छिर्दा पर्यटकका लागि राखिएका सूचना नै गलत रहेको पाइएको छ । विदेशीका लागि अङ्ग्रेजी भाषामा लेखिएको सन्देश हचुवाका भरमा राखिएको संस्कृति एवं पुरातत्वविद् पुरी बताउनुहुन्छ । दत्तात्रयको पुजारी मठमा रहेको ६०० वर्ष पुरानो चित्रहरुको संरक्षणमा जर्मनीको योगदान रहेको ताम्रपत्रमा उल्लेख छ ।

जसमा २०२९ साल असार १५ गते राखिएको ताम्रपत्रमा तत्कालीन राजा वीरेन्द्र शाहको शुभविवाहको अवसरमा जर्मनी सरकारले दिएको उपहार र धनराशिबाट गरिएको जीर्णोद्धार सम्पन्न भएको उल्लखे गरिएको छ । मठमा रहेको शिवालय, यहाँका भौतिक संरचनादेखि शौचालयसम्मको व्यवस्थापन र जिर्णोद्धारमा पनि पुरातत्वले चासो दिएको छैन । अधिकांश मठको अवस्था यस्तै रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख