२४ श्रावण २०७९, मंगलबार

कोरोना भाइरसबाट डराउन जरुरत छैन, यसो गर्नुस् सङ्क्रमणले छुदैन्

काठमाण्डौ । कोरोना भाइरसले समस्त विश्वलाई नै आक्रान्त बनाइरहेको वर्तमान परिपेक्षमा मानिसहरूको मन मस्तिष्कमा मौलाउन थालेको डरको दायरालाई सजिलै आँकलन गर्न सकिन्छ । मानिस सामाजिक प्राणी र सम्पुर्ण मानव अस्तित्व समाजसङ्गै जोडिएको र समाजमै निर्भर भएको हुनाले सामाजिक दुरी कायम गर्नु पनि त्यति सहज भने छैन । यस्तो अवस्थामा मानिसहरुमा बाध्यात्मक परिस्थितिका कारण उब्जेको डर र त्रासमय वातावरणलाई कसरी सहजतापुर्वक लिएर आफू र आफ्ना आफन्तलाई त्रासमय वातावरणको प्रभावबाट मुक्त राख्न सकिन्छ भन्ने विषयमा खोजी गर्नु नै आजको प्रमुख चुनौती रहेको छ।

धेरै मानिसहरु कोरोना भाइरसको बारेमा सत्य तथ्य जानकारी नलिकन डराउने, सचेत भएर सावधानी नअपनाउने सरकारी नियमलाई उल्लंघन गरेर बाहिर निस्किने र फर्केपछि कतै मलाई संक्रमण त भएन भनेर आत्तिने जस्ता प्रवृति बढेको देख्न सकिन्छ । हाल लकडाउन गरिएको अवस्था छ । लकडाउन खुलेर फेरि बन्द गरिएको भएकाले खुलेको समयमा गाउँबाट सहर फर्किएका मानिसहरू कोरोना त्रास साथै मनोबैज्ञानिक रुपमा चिन्ताको सिकार भैरहेका छन । विद्यालय खुल्ने सोचेर फर्केका विद्यार्थीहरु, छोराछोरी पढाउनका लागि आएका बुबाआमाहरु, भाडामा बस्नेहरु यसको सबैभन्दा बडि मारमा परेका छन । यस्तो अवस्थामा चिन्ता र तनाव न्यूनीकरण कसरी गर्ने भन्ने ज्ञान सम्पुर्णमा हुनु नितान्त जरुरी छ ।

यस्तो अवस्थामा आउन सक्ने मानसिक समस्याहरु के के हुन ?

कोरोना भाइरसको बारेमा मानिसहरूलाई प्रयाप्त जानकारी नभएको र यस्तो माहामारी लामो समयपछी देखिएको हुनाले मानिसहरु डर र अन्योलको अवस्थामा छन। मानसिकता जीवन र मृत्युको दोधारमा छ। मानिसहरुको समय अनुत्पादक रुपमा बितिरहेको छ। भ्रमको कारण डरको तह अझै बढेको छ । तर्सिने आत्तिने र हरेक कुरामा शंका गर्ने खालको मानसिक समस्या निम्त्याउने गर्छ यी कुराहरुलाई सन्तुलन गर्न नितान्त जरुरी छ।

डर जरुरी छ, डर जरुरी छैन ।

डर आफैंमा नराम्रो होइन। डर हुनु पनि पर्छ। यदि हामिमा डरै थिएन भने हामीलाई नियम पालना गर्ने बिबेक पनि हुने थियन । रोग नलागोस भन्ने अभिप्रायले हामी लक डाउनको पालना गरि आ- आफ्नो स्थानमा सुरक्षित रुपमा रहेका छौँ। यसको विपरीत स-साना कुरालाई भयंकर बनाएर सोच्ने, मानसिक रुपमा तनाव लिने जस्ता कार्यले हामिलाई दुख मात्रै दिदैन सामाजिक, मनोबैज्ञानिक एवं संवेगात्मक रुपमा कमजोर समेत बनाउँछ। हामीसङ्ग जो समय छ केही न केही सिर्जनात्मक एवं उत्पादनशील कार्यमा लगाउँ । आफूलाई व्यस्त राखौँ। सुरक्षित रहौँ। सावधानी अपनाउँ। डर मान्नुपर्ने जरुरत छैन।

के गर्ने के नगर्ने ?

यो विद्यमान परिस्थितिमा विशेष गरि सकारात्मक हुने प्रयास गर्ने, धेरै संख्यामा जम्मा भएर अनावश्यक कुरा नगर्ने, सत्य तथ्य बुझेर मात्र ज्ञान लिने, धैर्यता अपनाउने, केहि सृजनात्मक कार्यमा लाग्ने,सकेसम्म फुर्सदमा नरहने आदि गर्नाले डर तनाव र चिन्ताबाट छुटकारा पाउन सकिन्छ। धेरै सोच्ने, अनावश्यक कुरामा मन लगाउने, धेरै समय सामाजिक संजाल र हत्या हिंसाका समाचारहरु हेर्ने, बसिमात्रै रहने जस्ता कार्यले शारीरिक र मानसिक रुपमा दुर्वल बनाउने हुँदा यस्ता कार्य न्यूनीकरण गर्नुपर्दछ ।

यस्तो अवस्थामा सबैभन्दा बढी असर नै मानसिक स्वास्थ्यमा पर्ने गर्छ । भाइरस संक्रमितको मानसिक अवस्था त अस्वस्थ भयो नै संक्रमित नहुनेहरुको समेत मानसिक समस्याहरु आउन सक्छ । अहिलेको यो अवस्थामा आत्मबल र सकारात्मक सोचको नितान्त जरुरी छ जसले मानिसक रूपमा नै बलियो बनाउँछ । मानसिक स्वास्थले प्रतिरक्षा प्रणाली मजबुत बनाउने हुदाँ मानसिक शान्ति र स्वास्थलाई विशेष ध्यान दिनुपर्दछ।

मनोबल भन्नाले व्यक्तिको मनको बल आँट साहस आन्तरिक उत्साह एवं आत्मविश्वास भन्ने बुझिन्छ। मनोबल व्यक्तिको सकारात्मक मनस्थितिको अवस्था हो जुन अवस्थामा त्यो व्यक्तिले आफ्नो शारीरिक वा मानसिक शक्तिको उच्चतम प्रयोग गरेर कार्य सम्पादन एवं समय व्यतीत गर्न सक्छ। मनोबल नैरास्यताको विपरीत अवस्था हो।

अहिलेको समयमा विद्यमान कोरोना माहामारीका कारण मानिसहरुको मनोबल दिनानुदिन कमजोर हुँदै गइरहेको तथ्यलाई विभिन्न सर्वेहरुले प्रमाणित गरिसकेका छन । अर्को महत्त्वपूर्ण कुरा के हो भने मनोबल रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्ने सबल सुचांक हो।

तसर्थ जस्तोसुकै कठिन परिस्थितिमा पनि मनोबललाई उच्च राख्नुपर्दछ। रोगबाट संक्रमित भइ क्वारेन्टाइनमा बसेका व्यक्तिहरु हुन या पिसिआर परिक्षण गरेर रिपोर्ट पर्खिरहेका व्यक्तिहरु हुन, फ्रन्टलाइनमा खटिरहनुभएका सुरक्षाकर्मी, डाक्टर नर्सहरु,पत्रकारहरु हुन या आम मानिसहरु यतिबेला सबैको मनोबल उच्च र सकारात्मक हुन नितान्त जरुरी छ।

कसरी कायम गर्न सकिन्छ उच्च मनोबल

• सिर्जनात्मक कार्यमा अभिरुचि

• स्वतस्फूर्त परिश्रम

• जागरुकता

• कार्य र परिस्थिति प्रतिको सकारात्मक दृस्ठिकोण

• सहयोगको भावना

• नियमको स्वेच्छिक पालना

• अनुशासन

• नैतिकताको स्तर

• व्यक्तिगत अनुभुति आदि ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख