४ भाद्र २०७९, शनिबार

कवाडीखाना हुन्थेन भने यो पूरै शहर प्लास्टिका भाँडा, र बोत्तल सिसीले भरिन्थ्यो : बालकृष्ण बर्तौला

कुनै बेला काठमाडौको वातावरण अति नै मनमोहक र प्राकृतिक सौन्दर्यले सुसज्जित थियो। नेपाल एकीकरणको क्रममा उपत्यका आउँदा चन्द्रागीरिको शिरबाट काठमाडौ हेरेपछि पृथ्वीनारायण शाह समेत मोहित भएका थिए। जतासुकै पानीका स्रोतहरु थिए। वातावरण स्वस्थकर थियो। तर वर्तमान काठमाडौँ फोहोरमैलाको डंगुर, धुलो धुवाँले भरिएको छ। पानी नै पानी भएको भनिने ठाउँमा अहिले मानिसहरू पानी किनेर खानुपर्ने परिस्थितिमा बाँचिरहेका छन् । वातावरण दिनप्रतिदिन प्रतिकुल बन्दै छ।

नागढुङ्गाबाट थानकोट हुँदै कलंकी आइपुग्दा बाटाको दायाँबायाँ देखिने फोहोरका डंगुरहरुले सास फेर्न समेत गाह्रो बनाउछ । विगत तीन दशकदेखि अहिलेसम्म काठमाडौको वास्तविकता झेलिरहेका आमनागरीकहरुलाई पुराना फोटाहरुमा देखिने काठमाडौको तस्बिर वर्तमानमा केवल एउटा सपना जस्तो लाग्छ ।बल्खुखोलादेखी उत्तरपूर्व र कलंकी चोकको पश्चिमतर्फ हाइवेको अलिकति तल एउटा कवाडखाना छ। नकुहिने चिज जसलाई हामी फोहोर भनेर फाल्ने गर्छौं, ती सामानका डंगुरहरु थिए भित्र । प्रकृतिका आधारमा ती सामानलाई फरकफरक थुप्रामा राखिएको थियो। एक थुप्रोमा सिसाका बोत्तल एक थुप्रोमा प्लास्टिक बोत्तल, अलग्गै रबरजन्य सामाग्रीको थुप्रो, फलामजन्य सामानको थुप्रो यस्ता अलगअलग थुप्राहरुको नजिकै बसेर हँसिलो अनुहार भएका बालकृष्ण बर्तौला त्यहाँ काम गर्ने कर्मचारीहरुसँग हाँस्दै काम गरिरहनुभएको थियो। त्यतिबेला उहाँसङ्ग गोर्खा आवाजकी सबिता लामिछानेले गर्नुभएको कुराकानीको मुख्य अंश तपाईंहरुमाझ प्रस्तुत गरिएको छ ।

प्रश्न – यति धेरै अरु रोजगारका बाटाहरु थिए। कवाडखाना खोल्ने प्रेरणा कताबाट कसरी आयो ?
बर्तौला – अरु काममा धेरै मिहिनेत गर्नुपर्ने हुन्छ। तर यो सरल छ। मैले सुरुदेखी यहि सिकें। यहि सजिलो लाग्यो। मेरो आफन्तले यो काम गर्नुहुन्थ्यो। उहाँले मलाई पनि सिकाउनुभयो। नौ बर्ष भयो यो काम गर्म थालेको। ऐले त धेरै कुरा जानियो अनुभव पनि भयो।


प्रश्न – व्यवस्थापन कसरी गरिराख्नुभएको छ ?
बर्तौला- जमिन भाडामा लिएको हो। भाडा तिर्नुपर्छ। मजदुरहरुले सामान लिएर आउछन। आफूले ल्याएका सामानको परिणाम अनुसार पैसा लिन्छन। म सामान किन्न पैसा दिन्छु। उनीहरुले किनेर ल्याउछन र बाकी नाफा उनिहरुको आम्दानी हुन्छ।

प्रश्न – सुरुमा लगानी कति थियो ?
बर्तौला- दुईलाख बाट सुरु गरेको हो। ऐले त खर्च नि धेरै छ आम्दानी पनि राम्रै हुन्छ। परिवार राम्रोसँग पालनपोषण गर्न पुग्छ।

प्रश्न – पेसाप्रति कहिलेकाहीँ असन्तुष्ट या दिक्क लागेन ?
बर्तौला- पुलिसहरुले टेन्सन दिदा अरुले कवाडी खाते भन्दा नराम्रो लाग्छ। नेपालमा हामीहरु जस्तो कवाडमा काम गर्नेलाई राम्रो सम्मान छैन । चेक गर्दा पनि हेर त कवाडी भन्छन। अहिलेसम्म समाजमा सम्मान छैन।

प्रश्न – यो अवस्थासम्म आइपुग्दा पेशाप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
बर्तौला – सन्तुष्ट छु। राम्रोसँग खान लाउन, छोराछोरी पढाउन, परिवार चलाउन पुग्छ।
प्रश्न – कामदारहरु कतिजना हुनुहुन्छ ?
बर्तौला – ऐले ३५ जना छन्। जति पनि काम गरिरहेका छन् सबै खुशी छन्।

प्रश्न – नेपालमा लगभग कति कवाडखाना होलान् ? ती कसरी चलिरहेका छन ?
बर्तौला – उपत्यकामै लगभग १५०० भन्दा बढी कवाडखाना रहेका छन्। जसमा लगभग सत्तरीहजार भन्दा बढी मजदुर कार्यरत छन्।


प्रश्न – सरकार वातावरण संरक्षणको एजेन्डा बोकेर पाँचतारे होटलमा सभा सम्मेलन गर्छ। तपाईंहरु यसरी काम गरिराख्नुभएको छ। के भन्न चाहानुहुन्छ ?
बर्तौला– सरकारले यो व्यवसायले प्रदुषण रोक्न कसरी मद्दत गरेको छ भन्नेकुरा मनन गर्नुपर्छ। कवाडीखाना हुन्थेन भने यो पूरै शहर प्लास्टिका भाँडा, र बोत्तल सिसीले भरिन्थ्यो। हामीलाई कुनै सहयोग छैन अझै कर समेत लगाएको छ। म त भन्छु यसलाई सरकारले यसलाई वातावरण व्यवस्थापनको एउटा अङ्ग बनाउन पर्छ । सिड मनिको व्यवस्था गरिदिनु पर्छ। मजदुरको सेवा सुविधा वृद्धि गरिदिनुपर्छ। यो कर लगाउने ठाँउ होइन। काठमाडौको एउटा होटल हेर्नुभो भने त्यहाँ हजारौं बोत्तलहरु निस्केका हुन्छन् । हामी घरघर पुगेर उठाउछौँ । यसो नगरेको भए यो शहरको रुप कस्तो हुन्थ्यो होला ? सोच्नुस त !

प्रश्न – सामानहरु यहीँ प्रशोधन हुन्छन कि ?
बर्तौला- यहाँ प्रशोधन हुने सामाग्री यही राख्छौँ, बाँकी इटहरी विरगंजतिर पठाउछौँ। प्लास्टिकका बोत्तल पेलेर नया बोत्तल बनाउन सकिन्छ। सिसीहरु त्यै कम्पनीमा जान्छन् र सफा गरेर पुन: प्रयोग गरिन्छ। फलामका सामानहरु पनि यहीँ प्रशोधन हुन्छ।


प्रश्न – तपाईंको उमेरका दाजुभाइ दिदिबहिनी विदेशमा दुख गरी पसिना बगाइरहनुभएको छ उहाँहरुलाई के भन्न चाहानुहुन्छ ?
बर्तौला – आफ्नै देशमा मिहिनेत गर्न मज्जा हुन्छ। आफ्नो परिवार बच्चाबच्चीसङ्ग बस्न पाउनु खुसीको कुरा हो। हामीले यतै मेहनेत गर्यौ भने आम्दानी यहीँ गर्न सकिन्छ। पैसा यहीँ छ। हामीले हेर्न र निकाल्न सक्नुपर्छ। आफ्नो देशमा आफ्नो मिहिनेतले कमाएजस्तो विदेशको कमाई हुन्न। यहाँ जस्तो खुशी विदेशमा पाइन्न।

प्रश्न – बहुमूल्य समय उपलब्ध गराई आफ्ना विचारहरु राखिदिनुभएकोमा धन्यवाद।
बर्तौला- धन्यवाद यहाँलाई पनि ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख