३ जेष्ठ २०७९, मंगलबार

एउटै मञ्चमा कथाकारहरुको घमासान प्रतिष्पर्धा

माघ १२, काठमाण्डौ – ड्रीमप्वाइन्ट एजुकेशनल एण्ड ट्रेनिङ इन्स्टिच्युटद्वारा आयोजित साप्ताहिक स्वप्न वाक प्रतिष्पर्धा अन्तर्गतको कथा वाचन प्रतियोगिता उल्लासमय ढङ्गले सम्पन्न भएको छ । ड्रीम्प्वाइन्ट्को प्रशिक्षण हल बागबजारमा आयोजित उक्त प्रतियोगितामा ९ जना कथाकारहरुले विभिन्न शिर्षकका सन्देशमुलक, मार्मिक एवम समय सान्दर्भिक कथाहरु वाचन गरेका थिए । विभिन्न पृष्ठभुमिमा कार्यरत ड्रीमप्वाइन्टमा प्रशिक्षण प्राप्त व्यक्तिहरु बीच यो प्रतियोगिता आयोजना गरिएको हो ।

अघिल्ला हप्ताहरुमा विभिन्न समसामयिक विषयवस्तुहरुमा आधारित रहि वक्तृत्वकला कार्यक्रम आयोजना गर्दै आएता पनि यसपाली भने अलि पृथक कोणबाट विभिन्न प्रकारका कथा वाचनलाई प्रतियोगिताको रुपमा अघि बढाइएको हो । प्रतियोगीहरुले धार्मिक, सामाजिक, एतिहासिक एवम पौराणिक कथाहरु प्रस्तुत गर्नु भएको थियो भने कसैले प्रख्यात व्यक्तित्वको जिवनीलाई नै कथाको रुपमा प्रस्तुत गर्नु भएको थियो ।

कथाकार पुजा पन्थले सवारी सहचालकको वास्तविक जिवन घटनामा आधारित कथा प्रस्तुत गर्नु भएको थियो भने टेकनाथ आचार्यज्युले एउटा पशुमा त असिमित आत्मबल हुन्छ भने मान्छेमा त झन धेरै आत्मविश्वास हुनु पर्छ भन्ने सन्देश बोकेको वाख्रा र ओढारको कथा प्रस्तुत गर्नु भएको थियो । त्यस्तै, कथाकार पेमा डोल्माले डा सन्दुक रुइतको वास्तविक जिवन घटनालाई आधारित बनाइ कथा वाचन गर्नु भएको थियो भने विजय सुब्बाले समसामयिक कथा प्रस्तुत गर्नु भएको थियो । कथाकार दिपक रेग्मीले सन्त सुफिको मार्मिक कथा वाचन गर्नु भयो भने कथाकार दिपा लिम्बुले मृत्युको मुखमा छ्ट्पटाइ रहेको छोरा र आमाको वेदनामा आधारित रहि आमा छोराको पवित्र प्रेम र समर्पणको कथा वाचन गर्नु भएको थियो ।

त्यसै गरि कथाकारहरु पियुष लिम्बु र जयराम भण्डारीले मार्मिक एवम सन्देशमुलक कथा वाचन गर्नु भएको थियो । कथाकारहरुले वाचन गर्नु भएको कथाको मुल्यांकन वरिष्ठ अधिवक्ता एवम साहित्यप्रेमी प्रकाश पोखरेल, व्यवसायी एवम समाजसेवी गणेश लकान्द्री र स्कुल सन्चालिका एवम समाजसेवी सुशिला मानन्धरले गर्नु भएको थियो ।

कार्यक्रमको प्रमुख अतिथीको रुपमा उपस्थित रहनु भएका काठमाडौ महानगरपालिका वडा ११ का वडाध्यक्ष हिरालाल तण्डुकारले समारोहलाई सम्वोधन गर्दै यस्तो कथा वाचन प्रतियोगिताले प्रतियोगीको बोल्ने क्षमता र प्रस्तुती शैलीमा निखार्ता ल्याउने काम मात्रै नगरी हामी जस्तो श्रोताहरुलाइ पनि निकै महत्त्वपूर्ण ज्ञान प्रदान गर्न सफल रहेको जानकारी गराउनु भयो । वडाध्यक्ष तण्डुकारका अनुसार हामी सदैव राजनीतिक भाषण गर्छौ तर कहिलेकाही यस्ता कार्यक्रममा सहभागी हुँदा आनन्द महसुस गर्ने र पृथक अनुभुती गर्ने अवसर प्राप्त गर्छौ । आजको कथाले मलाई धेरै भावुक बनाएको र कतिपय कथाकारका कथाले विगत स्मरण गराएको अनुभुती व्यक्त गर्नु भयो ।

कार्यक्रमका विशेष अतिथिको रुपमा उपस्थित वरिष्ठ नियात्राकार एवम समाजसेवी घनश्याम राजकर्णिकारज्युले सहभागीलाई आफ्नो अनुभवमा आधारित मन्तव्य प्रस्तुत गरि सहभागीलाई उत्प्रेरणा प्रदान गर्नु भयो । उहाँका अनुसार हामी यो उमेरमा आउँदा पनि भाषण प्रती उत्तिकै अनुराग छ भने तपाईंहरुले बोल्ने कुरालाई बानी र संस्कारको रुपमा विकास गरेर जानु पर्छ भन्ने धारणा व्यक्त गर्नु भयो ।

ड्रीमप्वाइन्ट इन्स्टिच्युटका प्रमुख प्रशिक्षक शंकर प्रधानको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा उत्कृष्ट ४ जना कथाकारहरु दिपा लिम्बु, टेकनाथ आचार्य, विजय सुब्बा र दिपक रेग्मीलाई प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको थियो । सभालाई सम्वोधन गर्दै प्रशिक्षक प्रधानले शरिरका विभिन्न अङ्गहरुले शरीरलाई आकर्षक र लोभलाग्दो बनाएअ जस्तै कथा पनि भाषणको एउटा अभिन्न अङ्ग हो र यसले मन्तव्यलाई रसिलो, गहकिलो र प्रभावशाली बनाउन मद्दत गर्ने धारणा व्यक्त गर्नु भयो । कथा भन्नको लागी मात्र नभै हरेक प्रकारको कथाले विभिन्न जिवन उपयोगी सन्देश हरु प्रवाह गर्ने र व्यक्तिमा आत्मबल वृद्धि गर्नुका साथै उत्साहित बनाउने विचार व्यक्त गर्नु भयो ।

कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिदै यस्ता कार्यक्रमहरुलाइ व्यापक बनाउदै निरन्तरता दिनु पर्ने र त्यो सबैको सहयोग र सहकार्यबाट मात्रै सम्भव हुने धारणा व्यक्त गर्नु भयो । कार्यक्रममा युवा व्यवसायी सन्दिप भट्टराईले नमुना कथा प्रस्तुत गर्नु भएको थियो भने अन्जु घोरासैनीले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख