२७ श्रावण २०७७, मंगलवार

सशस्त्र प्रहरीका थप १७ मा कोरोना सङ्क्रमण पुष्टि

मङ्गलबारे । इलाममा सशस्त्र प्रहरीका १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । चालिस सशस्त्र प्रहरीको स्वाब सङ्कलन गरी पठाइएकामध्ये झण्डै आधामा कोरोना सङ्क्रमण देखिएको हो ।

स्वास्थ्य कार्यालय इलामका प्रमुख वृजकुमार दासका अनुसार यही साउन १३ गते उनीहरुको स्वाब सङ्कलन गरेर परीक्षणका लागि पठाइएको थियो । यसअघि १० सशस्त्र प्रहरीमा नै कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ ।

हालसम्मका सशस्त्र प्रहरीका २७ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । इलाम नगरपालिकाका ८९ जनाको स्वाब सङ्कलन गरेर पठाइएको छ । जिल्लाभरिमा १६० को रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल व्यक्ति विमल बरालले बताउनुभयो ।

बाँकी सशस्त्र प्रहरीको स्वाब सङ्कलनको तयारी भइरहेको बताइएको छ । आज पोजेटिभ देखिएका सबैलाई थप उपचारका लागि मोरङस्थित गोठगाउँमा लैजाने तयारी भइरहेको छ ।

यसअघि सङ्क्रमण फेला परेकाहरुको सोही अस्पतालमा उपचार भइरहेको छ । योसँगै इलाममा कोरोना पुष्टि हुनेको सङ्ख्या ५७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख