२७ श्रावण २०७७, मंगलवार

गुरुयोजना खारेजीको माग गर्दै पशुपति क्षेत्रमा सांस्कृतिक र्‍याली

काठमाण्डौ । पशुपति क्षेत्र विकास कोषले स्थानीयवासी एवं तीनै तहका जनप्रतिनिधिसँग परामर्श नगरी दीर्घकालसम्म प्रभाव पार्ने गुरुयोजना प्रस्ताव गरेको भन्दै स्थानीयवासीले सांस्कृतिक ¥यालीसहित विरोध प्रदर्शन गरेका छन् ।

विरोधस्वरुप आज बिहान पशुपतिको ट्याक्सी पार्कबाट–तिलगङ्गा–देउलाटोल–आँखा अस्पताल–गौशाला–रातोपुल–पनेको टोल–सिफलचौर–ताम्रेश्वर–नवालीटोल–जयवागेश्वरी–मित्रपार्क–कुटुबहाल–लामपोखरी–चन्द्रविनायक मन्दिर–चावहिल चोक–पीपलबोट–गौरीघाट–उमाकुण्ड–पशुपतिनाथको पश्चिम मूल ढोका–डठ्ठीटोल–जयवागेश्वरी हुँदै भुवनेश्वरी पार्क गरी गुरुयोजनाले प्रभाव पार्न लागेको सबै क्षेत्रमा सांस्कृतिक ¥याली निकालिएको संयुक्त सङ्घर्ष समितिका संयोजक आशामान सँगतले राससलाई जानकारी दिनुभयो ।

सांस्कृतिक वेषभूषासहित ¥यालीमा सहभागी भएका स्थानीयवासीले गुरुयोजना तत्काल खारेज गर्न माग गरेका थिए । ¥यालीमा वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य, काठमाडौँ महानगरपालिका– ७ का अध्यक्ष शुद्धकुमार डङ्गोल, वडा नं ८ का अध्यक्ष दीनेशकुमार डङ्गोल, वडा नं ९ का अध्यक्ष रामकृष्ण जयेखु श्रेष्ठलगायत वडामा निर्वाचित जनप्रतिनिधि, स्थानीय सङ्घसंस्था, क्लब, गुठीलगायत सदस्यको सहभागिता थयो ।

सहभागीले एक स्वरमा कोष सञ्चालक परिषद्ले २०७६ माघ १९ गते पारित गरी मन्त्रिपरिषद्मा पेश गरेको गुरुयोजनाको विरोध गरेका थिए । स्थानीयवासीको प्राचीनकालदेखिको बस्ती नाश गर्ने, स्थानीयवासीका चाड पर्व, धर्म संस्कृति पनि नष्ट हुने भएकाले गुरुयोजना खारेज हुनुपर्ने सहभागीको माग थियो ।

समितिलाई आइतबार बिहान १० बजे संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले वार्ताका लागि बोलाउनुभएको जानकारी पनि संयोजक सँगतले दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख