२७ श्रावण २०७७, मंगलवार

कालीकोटमा पहिरोमा परी ८ जनाको मृत्यु, एकै घरका ७ जना

काठमाडौं । कालीकोटको पहिरोमा परी ८ जनाको मृत्यु भएको छ । नरहनीनाथ गाउँपालिकामा पहिरोले पुरिएर ८ जनाको मृत्यु भएको हो । त्यस्तै सोही पहिरोमा एकजना बेपत्ता भएका छन् ।

गाउँपालिकाको वडानम्बर ७ मा मंगलबार राति आएको पहिरोले ६५ वर्षीय गंगे बुढाको घर पुरिँदा उनीसहित ६१ वर्षीय श्रीमती नैना, २४ वर्षीय बुहारी कुशा, १८ वर्षीय छोरी विमला, १० वर्षीया नातिनी चन्द्रिका, ७ वर्षीय नाति राम बढा र एक वर्षका चरित्र बुढाको मृत्यु भएको हो ।

६ जनाको घटनास्थलबाटै शव निकालिएको र छोरी विमलाको उद्धार गरी उपचार गर्ने क्रममा मृत्य भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख, डीएसपी श्याम ओलियाले जानकारी दिए ।

यस्तै सोही गाउँपालिकाको वडानम्बर ४ मा ६५ वर्षीय बाले बुढाको घर पुरिँदा उनकी ६५ वर्षीय श्रीमतीको मृत्यु भएको छ । बाले बेपत्ता रहेको र खोजी कार्य भइरहेको डीएसपी ओलियाले बताए ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख