१९ श्रावण २०७७, सोमबार

रुकुमपश्चिममा पेस्तोल पड्किँदा सशस्त्र प्रहरी हवल्दार घाइते

रुकुमपश्चिम । पेस्तोल सफा गर्ने क्रममा पड्किँदा सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार यामबहादुर खड्का घाइते हुनुभएको छ । नियमित हातहतियार सफाइका क्रममा आज दिउँसो पेस्तोल पड्किँदा कोहलपुर नगरपालिका बाँके घर भएका ३७ वर्षीय खड्का घाइते हुनुभएको हो ।

सशस्त्र प्रहरी बल ४७ नं गुल्म मुसीकोट नगरपालिका–१ मठमा कार्यरत खड्काको पेस्तोल सफाइ गर्ने क्रममा पड्किँदा खुट्टाको घुँडाभन्दा माथिको भागमा लागेको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले जानकारी दिनुभयो ।

उहाँको अवस्था सामान्य रहेको र जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रजिअ पौडेलले बताउनुभयो । सशस्त्र प्रहरीले हरेक हप्ता हातहतियार सफाइ गर्ने गर्ने गरेको छ । सोही क्रममा आज पेस्तोल सफा गर्दा पड्किएको हो ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख