१९ श्रावण २०७७, सोमबार

जब न्यायको पर्दा बन्द हुन्छ

खै कहिलेदेखि हो

आखामा पट्टी बाधेर

न्यायको तराजु लिएर

उभिएकि तिमी, तर

तिम्रै अगाडि हर चेलीको

आत्मा  छिया छिया पारेर बेचिएको छ ।

आफ्ना रहर र चाहनालाई

दुर क्षितिजमा भेटाउने रहरमा

आफ्नो परिवारको

भाग्य कोर्न समर्पित

एक नारीलाई

टुक्रा टुक्रा पारेर जलाइएको छ ।

आफ्नो जीवनको प्रवाह नगरी

सन्तान सुखका लागि

चिराचिरा परेका हातगोडा लिएर

संघर्षशील आमालाई

बोक्सी र डायन बनाइएको छ ।

कपि र किताब बोकेर

जिन्दगीको सपना सजाउदै हिडेकि

छोरीको चाहनालाई

फक्रनै नदिई

निमोठिएको छ

आफ्नो जीवन आफै रोज्न पाउने

अधिकारको कुरा सुनेकि चेलिलाई

उसकै आज्ञापालक नबनेको भरमा

कुरूप पारिदैछ ।

सिड्गो जीवन र श्रम

पराइको नाममा समर्पण 

गरेकि चेलिलाई,

दाइजोको बहानामा

जिउदै जलाइएको छ ।

यहाँ हरेक आन्दोलनमा

अग्रपंक्तिमा उभिन सक्ने नारी

काली र दुर्गा बनेर

अत्याचारीको नरसंहार गर्न सक्ने नारी

हरेक दिन, निर्मला, गिता, पवित्रा बनेर

न्यायका लागि भौतारिनु परेको छ ।

हरेक आमा, दिदी, बहिनीको

चीत्कारले सपनामा

तर्साइरहेको बेला,

आजत विपनिमै चट्याङ परेको छ

यहा हरेक संघर्षले चट्टान भएको मन

आज डगमगाएको छ ।

अब त अति भयो

हरपल पीडा, अपमान, र लाञ्छनाले

तिम्रै छोरीहरू प्रताडित हुँदा

समाजका ती अपराधीलाई भने

विजेताको भावमा देख्दा

ती राक्षसी प्रवृत्तिको विरूद्ध

गोला बारूद बनेर

विस्फोट हुन मन लागेको छ

हैन भने

अब त्यो आखाको पट्टि खोलिनु पर्छ

एउटा कलमको निवमा अब

आडम्बर र पहुच हैन

न्यायको मसि भरिनु पर्छ

चेलिकै लागि कलमका निव भाचिएजस्तै

आस्था र भरोसा भाचिनु हुदैँन

यहाँ हरदिन तिम्रा चेली  हारिनु हुदैँन ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख