१९ श्रावण २०७७, सोमबार

तुलसीपुर बजारमा ट्राफिकको ‘ह्वीललक’ अभियान

तुलसीपुर । सडक मिचेर अव्यवस्थितरूपमा पार्किङ गरेका सवारी साधनलाई ट्राफिक प्रहरी तुलसीपुुरले ‘ह्वीललक’ अभियान शुरु गरेको छ । तुलसीपुरमा उक्त अभियान आजदेखि शुरु गरिएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख चन्द्र केसीले बताउनुभयो ।

सवारीमा ‘ह्वीललक’ गरेपछि चलाउन पनि नमिल्ने र त्यसको साँचो ट्राफिक प्रहरीसँग रहनेछ । अव्यवस्थित पार्किङ गरिएको सवारीमा ‘ह्वीललक’ गरेपछि सम्बन्धित सवारीधनीले राजश्व नबुझाउँदासम्म नखोलिनेसमेत उहाँको भनाइ छ ।

यसले सडक मिचेर पार्किङ गर्ने कार्यको न्यूनीकरण हुनेसमेत प्रमुख केसीको भनाइ छ । लकडाउन खुलेपछि अहिले सडकमा अव्यवस्थितरूपमा सवारी साधन पार्किङ गर्दा आवतजावतमा समेत समस्या हुने गरेको छ । ट्राफिक प्रहरीको यो अभियानको भने सर्वसाधारणले गुनासो गरेका छन् ।

तुलसीपुर बजारमा व्यवस्थित पार्किङ नहुँदा जथाभावी पार्किङ गर्न बाध्य भएको तुलसीपुर–५ निवासी प्रवीण केसीले बताउनुभयो । “उचित पार्किङ छैन, पार्किङ नहुँदा अहिले जहाँ पायो त्यही पार्किङ गर्न बाध्य छौँ”, उहाँले भन्नुभयो, “पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ भएको छैन ।”

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख