७ कार्तिक २०७८, आइतबार

लोकसेवाको परीक्षा कसरी तयारी गर्ने : नेपाल सरकारका उपसचिवको टिप्स

नेपालमा दिनप्रतिदिन बेरोजगारीको संख्या बढिरहेको छ। त्यसैमा रोजगारीको अवस्था पनि दयनीय रहेको छ। अधिकांश युवाहरु रोजगारीको लागि विदेशिएका छन्। जसले गर्दा नेपालमा युवाशक्तिको अभाव हुँदै जान थालेको छ। कलेज तहको पढाइमा एउटा समूह रहेको छ भने अर्को समूह पढाइलाई बीचैमा छोडेर खाडी मुलुकमा श्रम बेच्न गइरहेको अवस्था छ।
नेपालमा उद्योगधन्धाको विकास र विस्तारमा कमी एवं कृषि पेशाप्रति आम युवाको चासो घट्दै गइरहेको पाइन्छ। कतिपय युवाशक्तिले सरकारी सेवामा प्रवेश गर्ने इच्छा व्यक्त गरेको पनि पाइन्छ। निजामती सेवाको बढ्दो आकर्षणसँगै लोकसेवामा प्रतिस्पर्धा पनि झन्झन्कठिन हुँदै गएको छ। विशेषगरी मध्यम वर्गीय युवाको लोकसेवामा नाम निकालेर सरकारी जागीर खाने सपना रहेको हुन्छ। त्यसका लागि लोकसेवा आयोगबाट लिइने विभिन्न श्रेणीका परीक्षामा सहभागी भइरहेका छन्।
लोकसेवा आयोगबाट लिइने परीक्षामा सफल हुनका लागि सानोतिनो तपस्या गर्नुपर्दछ। निरन्तरको परिश्रम र मेहनतका साथ आत्मबल बढाई धैर्यताका साथ अध्ययन गर्नुपर्दछ। कलेजको शैक्षिक पाठ्यक्रम एकातिर रहेको छ भने लोकसेवा आयोगबाट विभिन्न श्रेणीका लागि सोधिने प्रश्नपत्रका लागि तयार गरिएको पाठ्यक्रम अर्कोतिर छ। सो पाठ्यक्रम र विषयवस्तुको तादाम्यता मिलाई अध्ययन गर्नुपर्दछ। विभिन्न श्रेणीको परीक्षाका लागि तोकिएको योग्यता पुग्ने परीक्षार्थीले लोक सेवा आयोगको परीक्षा उत्तीर्ण गर्नका लागि धेरै कुरामा ध्यान दिनुपर्दछ।
सर्वप्रथम आफूले सहभागी हुन चाहेको परीक्षाको लागि तोकिएको पाठ्यक्रमप्रति पूर्ण रुपमा जानकार भएको हुनुपर्दछ। पाठ्यक्रममा समावेश गरेका विषयवस्तुको गहन रुपमा खोजपूर्ण अध्ययन, मनन र विश्लेषण गर्नुपर्दछ। यस लेखमा राजपत्रांकित तृतीय श्रेणीको परीक्षालाई केन्द्रविन्दुमा राखेर सफल हुनका लागि केही टिप्सहरु दिन खोजिएको छ। निरन्तरको अध्ययन र विषयवस्तुहरुको विश्लेषण नै शुरुवात् हो जसले परीक्षामा उत्तीर्ण हुनका लागि मार्गनिर्देश गर्दछ।
दैनिक रुपमा कम्तिमा चार घण्टा(बिहान र बेलुका) अध्ययन गर्नुपर्दछ। तोकिएको समयभित्र प्रश्नहरुको उत्तर लेख्ने बानी बसाल्नका लागि पुराना प्रश्नहरुलाई अभ्यास गर्नुपर्दछ। समकालीन साथीहरुसँग पाठ्यक्रममा आधारित रहेर छलफल एवं अन्तर्क्रिया गर्नु राम्रो हुन्छ।
पाठ्यक्रम अनुसारको नोटकपी बनाएर अलग अलग समसामयिक विषयहरु संग्रह गरी इण्टरनेट, विभिन्न पत्रपत्रिका, प्रशासनिक र व्यवस्थापन क्षेत्रसँग सम्बन्धित पुस्तक, प्रकाशन तथा लेख रचनाहरु र महत्वपूर्ण घटनाहरुको टिपोट गरी अध्ययन गर्नुपर्दछ। पारिवारिक वातावरणको भूमिका महत्वपूर्ण हुने भएकाले दैनिक शान्त जीवन एवं सौम्य र हर्षपूर्ण पारिवारिक वातावरणमा रहनुपर्दछ। अध्ययन गर्दा सकभर लेखेर गर्नुपर्दछ जसले लेख्ने शैलीको विकास हुन्छ भने परीक्षामा लेख्दा थाकिदैन।
स्मरण शक्तिलाई तेज बनाउनका लागि तागतिला खानेकुरा, फलफूल र तरकारी सेवन गर्नुपर्दछ। मादक पदार्थबाट टाढै रहनु श्रेयस्कर हन्छ। मस्तसँग निदाउने बानी बसालेमा सधै फ्रेस हुन सकिन्छ र पढेको कुरा सम्झिन सकिन्छ। आफूभन्दा अग्रजहरुबाट सुझाव, सल्लाह एवं पृष्ठपोषण लिनसक्नुपर्दछ। सञ्चार माध्यमबाट लिइएका अन्तरकृयात्मक कार्यक्रमहरुले पनि विषयवस्तुको बारेमा जान्न सघाउ पुर्याएका हुन्छन्।
परीक्षामा सोधिएको प्रश्नमा कसरी उत्तर दिने भनी पहिल्यै तयार भइसक्नुपर्दछ।आफूले जानेको विषयमा स्पष्ट भई उत्तर दिनुपर्दछ।
अध्ययन गर्दा विषयवस्तुको अवधारणा, अर्थ, परिभाषा, सिद्दान्त, क्षेत्र, प्रकार, महत्व, चरणहरु, वर्तमान अवस्था, अन्तर्राष्ट्रिय अभ्यास,कारण, समस्या, समाधानका उपायहरु आदि विषयमा जानकारी हुनुपर्दछ।
नेपालको परिवेशमा हरेक विषयको विश्लेषण गर्नुपर्दा संविधान, मुख्य मुख्यसम्बन्धित कानूनहरु, क्षेत्रगत नीतिहरु, आवधिक योजनाहरु, अन्तर्राष्ट्रियसन्धी सम्झौता र प्रतिबद्दताहरु, चालू बजेटमा भएको व्यवस्था, सरकारको तत्कालीन प्रतिबद्दता, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, राष्ट्रिय गैरसरकारी संस्था, निजी क्षेत्र, नागरिक समाजको दृष्टिकोण लगायतका विषयमा जानकारी लिन सकेमा जुनसुकै खालको प्रश्न आएमा पनि उत्तर दिन सकिन्छ।
विशेषगरी प्रश्न नबुझेर धेरैजना असफल भएको पाइएको छ। त्यसैले प्रश्नलाई बुझ्नका लागि दुई तीनपटक पढ्नुपर्दछ। प्रश्नमा अवधारणा सोधेको खण्डमा के हो भन्ने अर्थमा उत्तर दिनुपर्दछ। समस्या केलाउँदै सुझाव दिनुहोस् भनेको रहेछ भने नीतिगत, कार्यक्रमगत, संस्थागत, संरचनागत र व्यवहारिक समस्याहरु पहिल्याई तिनका समाधानका उपायहरु लेख्नुपर्दछ। टिप्पणी लेख्नुहोस् अथवा टिप्पणी गर्नुहोस् भन्ने प्रश्न आएमा अर्थ, परिभाषा, क्षेत्र, विशेषता, उद्देश्य समेत लेख्नु पर्दछ। यदि प्रश्नमा विवेचना गर्नुहोस् भनी सोधिएको प्रश्न छ भने कारण र प्रभाव तथा सबल एवं दुर्बल पक्षहरु केलाउँदै भविष्यमा के गर्न सकिन्छ भनेर जवाफ लेख्नु राम्रो हुन्छ। त्यसैगरी प्रभाव लेख्नुहोस् भनेर सोधिएको छ भने सकारात्मक एवं नकारात्मक दुबै पक्षहरु केलाउनुपर्दछ।

प्रश्नमा समीक्षा गर्नुहोस् भनिएको छ भने विद्यमान अवस्था र सबल तथा दुर्बल पक्षहरु लेख्नु श्रेयस्कर हुन्छ।
प्रश्नमा सधै सकारात्मक हुनुपर्दछ। उत्तर लेखाइ जहिले पनि एकतर्फी हुने भएकाले बुझाउने गरीसकारात्मक र स्पष्ट रुपमा लेख्नुपर्दछ। यदि नकारात्मक रुपमा प्रस्तुत हुने भएमा पुष्ट्याइसहित जवाफ दिनुपर्दछ। उत्तर पुस्तिका जाँचकीसँग उत्तरकुञ्जिका हुँदैन त्यसैले कपीमा लेखेको कुराले धेरै नम्बर हात पार्ने हो। त्यसैले समस्या जुन नम्बरमा लेखिएको छ त्यसको समाधान पनि त्यही नम्बरमा सिलसिलेबार तवरले लेख्दा कापी जाँचकीको पनि चित्त बुझाउन सकिन्छ।
उत्तर लेख्दा सरल, सारगर्भित, गहकिलो, छोटो,मीठो र स्पष्ट रुपमा लेख्नुपर्दछ। विषयवस्तुसँग सम्बन्धित तथ्यांकलाई समावेश गर्न सकिन्छ साथै चित्रको माध्यमबाट पनि विषयवस्तुलाई स्पष्ट रुपमा प्रस्तुत गर्न सकिन्छ। अनावश्यक भूमिका बाँध्नुपर्दैन जसले गर्दा समय खेर गई सबै प्रश्नहरु हल गर्न सकिदैन।

कार्ययोजना बनाई उत्तर लेख्नुपर्ने प्रश्न आएको छ भने समस्याको पहिचान, कारण, प्रभाव, नीतिगत व्यवस्था, समाधानका उपायहरु समावेश गरेर समयाबधि तोकीसूचकसहितको अनुगमन मूल्यांकनको पाटोलाई जोड दिएर अन्त्यमा निष्कर्ष सहित समाप्त गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख