७ कार्तिक २०७८, आइतबार

प्रगति

‘प्रगति’ को परिभाषा मैले ठ्याक्कै परिभाषित गर्न सकेको छैन । म आफै अन्योलग्रस्त छु, खासमा केलाई प्रगति भन्ने । सबै कुराको वृद्धिलाई प्रगति भन्न सकिन्न, न त कमीलाई । साँच्चै जटिल छ प्रगतिको सिमाङ्कन ।
“फलानाले त क्या प्रगति गर्यो यार, खुब कमाएको छ ।” धेरैजसो मान्छेबाट सुनिने प्रगतिको परिभाषा हो यो । कमाइलाई केन्द्रमा राखेर परिभाषित गरिएको यो परिभाषा पनि सर्वसम्मत छैन । कमाउन त भरीया, कामदार, कुल्ली, डाक्टर, ब्रोकर , बैंकर सबैले कमाएकै छन् । कसको कति कमाइलाई प्रगति भन्ने ठ्याक्कै मापदण्ड छैन ।

अर्कोतिर निकै बाक्लो समूह छ घर किन्नु वा कार किन्नुलाई प्रगति मान्नेहरुको । घडेरी जोड्नु, बैंक ब्यालेन्स बढाउनु, आफूलाई उच्च र व्यस्त देखाउनु यसो विदेशतिर पनि गइरहनु यो समूहका आम विशेषता हुन् । म आफै पनि कतिकति बेला यो समूहतिर ढल्किन खोज्छु तर चाहेर पनि मैले यस्तो हैसियत बनाउन सकिन, धेरै प्रयास गर्दा पनि मैले यो प्लेटफर्म पाउन सकिन । त्यसैले अर्कै विधामा संभावना रहेको आफ्नो कुण्डली सम्झेर त्यतातिरबाट चित्त मोड्न भने सकेको छु ।

दानधर्म र तिर्थव्रत गर्नुलाई प्रगतिमा सिमाङ्कन गर्नेहरुको पनि सानो समूह छ विशेष गरी अति आस्तिक र अलि बुढापाकाहरुको । हुन त बैश र उमेरमा पाप र कुकर्म गरेपनि, जस्तै कठोर बनेपनि उमेर घर्किएर पचास कटेपछि पूजाआजा तथा भजन- कीर्तनतिर लागेको समूह पनि समाजमा कताकति देख्न पाइन्छ । केही वर्ष पहिला मेरो उमेरका साथीहरुसंग मिलेर भगवान छैनन्, ढुंगो पूजा गर्न पर्दैन, नखाइनखाई भोकै बस्नु पर्दैन भन्दै घरमा तहल्का गर्दा कट्टर ब्राह्मण संस्कारमा रहेकी मेरी आमाले कुचाले हान्दै भन्नुभएको थियो “भगवान् छैनन् भन्ने पशु यो घराँ पस्न पर्दैन थुक्क ! यस्ता पशुले के प्रगति गर्लान् ।”

थुक्क ! यस्ता पशुले के प्रगति गर्लान् जीवनमा भनी एकछाक खानबाट समेत वञ्चित गर्नुभएकोले हिजोआज मैले यस्तो हल्ला गर्न छोडेको छु । हामी बाँचिरहेको कलियुगमा यो सिद्धान्तको व्यावहारिक जीवनशैली शुन्यप्राय: छ ।

एकपटक एकजना डि आइ जी सापले भन्नुभयो, ‘उमेरभर बन्दुकसित खेलेर बुढेसकालमा बीसोटा हजार पेन्सन आउछ । अहिले यौटा सामान्य मान्छेले अठार बीस हजार सजिलै कमाउछ । अनि मेरो कमाइ कहाँ म्याच भयो त !’ वरिपरी बसेका जवानहरुलाई सुझाव दिदै उहाले थप्नुभयो, ‘त्यसैले भाइ यो सर्कारी जागिरको पछाडि धेरै नलाग । तिमीजस्तो मान्छेले त प्राइभेट सेक्टरमै धेरै प्रोग्रेस गर्न सक्छौ । फलानोले यता साठी हजार कमाउछ, उता फलानाले झन् महिनामै दुई लाख पठाउछ युकेतिरबाट …. कोरियातिरबाट …………’
एकदिन बाटोमा अकस्मात मावलीतिरको भाइ भेटियो । उसले खासै पढेन क्यारे, पहिला इन्डयामा वर्ष चार बस्यो, अहिले यही शहरमा रहेछ । ट्याक्सी ड्राइभर बनेछ । उसले भन्यो ‘दाइले बरु प्रगति गर्नुभयो, आफूले त पढ्न नि सकिएन । यैँ ट्याक्सिले हातमुख जोर्न पुगिहाल्छ, अढाई बर्षमा ट्याक्सि आफ्नो बनाएँ’ कुरा गर्दै जादा थाहा भो, उसले पनि मासिक तीस हजार बढी कमाउने रहेछ, शहरमै केटीसंग बिहे गरेर घरजम पनि गरिसकेछ । मैले भने ‘भाइ प्रगति त तिम्रो पो भएछ ।’

मलाई आफूले पटक्कै प्रगति गर्न नसकेको त शतप्रतिशत नै थाहा छ, तैपनि अरुले फुर्काएर भन्ने शब्द ‘पढेलेखेको मान्छे’मा केही पनि तुक देख्न छाडेको छु । मेरो पढाइलाई प्रगति भन्न मिल्दैन । अहिले शहरमा सबै पढेलेखेकै मान्छे त भेटिन्छन् छ्यापछ्यपी । अरु केही काम नपाएर मास्टर्स पढ्दैछु, त्यही त हो, कहिलै राम्रो नम्बर ल्याउन सकिएन । प्रगति भन्ने श्रेणीको पढाइ यो हुदै होइन । डिग्री सकाएपछि पनि कतै पढाउने काम पाइए त हो नत्र के गर्ने भन्ने ठोस विचार पनि ममा केही थिएन । कहिलेकाही भविष्यको चिन्ता हुन्छ तर चिन्ता पनि त समस्याको समाधान होइन रहेछ । कहिलेकाही कोरियन वा जापानी भाषा पनि पढौ कि झैँ लाग्छ ।
गाउकै एकजना काकाको छोरा बल्लबल्ल एस् एल् सि पास गरेर आर्मीतिर छिर्‍यो। पहिला धेरैले उसलाई गाली गरे । म आफैले पनि उसलाई क्याम्पस पढ्न सुझाएथेँ । अहिले तेह्र बर्षपछि ऊ आर्मी हवल्दार बनेको छ । गत बर्ष स्नातक सकाएपछि मैले पनि दरखास्त दिएथेँ तै पनि नाम निकाल्न सकिएन । नाम निस्केको भए त्यो प्रगति हुन्थ्यो कि !! हुन त उसको भन्दा डेढदुई गुणा बढी पैसा हुने नीजी क्षेत्रको राम्रै ग्रुपमा अन्तर्वार्ता पास गरेरै केही समय जागिर गरेँ गतिलै पदमा । त्यसलाई पनि कतिले प्रगतिको संज्ञा दिए यद्यपि मैले प्रगति ठानिन र फुर्किइन पनि । केही समयपछि म्यानेजरसंग टकराव परेपछि मैले जागिर छोड्नु पर्‍यो । नियम र सत्यतामा म अडिग हुनाले दुख मनाउ गर्न पनि आवश्यक ठानिन । मनमनै एउटा इख लिएँ मैले पनि प्रगति गर्नेछु ।
मेरो एउटा साथी अलि गजडी स्वभावको छ । बाउबाजेको सम्पत्ती प्रशस्त भएकोले पनि उसले मिहिनेत नगरिकन खुला दिलले खर्च गर्छ । प्राय: सधै बिन्दास मुडमा देखिने ऊ हल्का तानेकै अवस्थामा बढी देखिन्छ । उसको प्रगतिको परिभाषा अलि फरक खालको छ । राम्री केटी बिहे गर्नु नै उसको लागि प्रगति हो । उसको सधै सुझाव रहन्छ ‘हेर जोशमा आएर लव म्यारिज नगर्नु, बाजा बजाएर प्रकाशकि बुढी झै केटी बिहे गर्नुपर्छ ।’ यद्यपि उसले बाजा बजाएर बिहे गर्नेछ भन्नेमा मलाई शंका नै लाग्छ ।
गाउमा संसारबाट बैरागिएका यौटा महात्मा बाबा छन् । प्राय: वरिपरीका गाउँमा “योग वाशिष्ठ” भन्ने पुस्तक लिएर डुल्नु र ज्ञानगुनका कुरा गर्नु उनको विशेषता हो । उनी कसैको घरमा भिक्षा लिदैनन् एक घरमा एकचोटिमा बढिमा एक छाक खाने अर्को घर वा गाउतिर लागिहाल्छन् । कहिलेकाही मन्दिरतिर पनि देखिन्छन् । उनले हिन्दी र नेपाली बराबरीजसो मिसाएर कुरा गर्छन् । तत्वज्ञान पाउनु नै उनको लागि सर्वोत्तम प्रगति हो । ‘देख बेटा, अगर तत्व ज्ञान छैन भने फिर संसारमा जन्मने र मर्ने चक्रमा आना पड्ता है ।’ यस्तै हुन्छन् उनका उपदेशहरु । प्रगतिको परिभाषा ठम्याउन नसक्ने मेरो सानो दिमागले कहाँबाट तत्वज्ञान भेटाओस्, अहिले तत्वज्ञानतिर नसोचौँ होला ।
कतै दाम कमाउनुलाई भन्दा नाम कमाउनुलाई प्रगति मान्नेहरुको पनि सानो समूह छ । सच्चा कर्मठ एवं कर्तव्यनिष्ठ असल दर्जाका मान्छे नगन्य संख्यामा भेटिन्छन् । यो समूहमा शयकडा एक दुई जना मुस्किलले भेटिन्छन् । सच्चा दिलले विधानत: काम गर्ने र धन सम्पतिमा आफ्नो स्वाभिमान नदाँच्नेहरु लोपोन्मुख अवस्थामा छन् ।

तर्क वितर्क र कुतर्क गरेर कुरालाई जतापनि मोड्न सकिन्छ । यसमा धेरै दिमाग नखियाऊँ । यो भयो यौटा नितान्त व्यक्तिगत मामला । जे होस्, सबै भगवानको देन हो भन्दै अर्को जन्मका लागि समेत भनेर प्रगति गर्न खोज्नेहरुको समूह पनि समाजबाट लोप भैसकेको छैन । मेरो एकजना आफन्त हुनुहुन्छ निकै भुडी लागेको, सम्मानको जिन्दगि, गाडि, बंगलो, खेत र घडेरी पनि प्रशस्त । सम्मानपूर्ण जागिर र रियलस्टेट बिजनेश दश करोड बढी सम्पत्तिको मालिक । केही समय मैले पनि उहाको संगत गरेथेँ म अलि सोझो मनको छु क्यारे मैले कमाउने तरिका जानिन । पैसाकै पछि दगुर्ने स्वभावको पनि म परिन त्यसैले पैसाले मलाई घृणा गरे होला । गएको महिना एक्कासी पशुपति मन्दिर परिसरमा उहाँसंग भेट भो । खुट्टा ढोग्दै मैले भने ‘हजुरको प्रगतिलाई मान्नै पर्छ ।’ उनले शालीनतापूर्वक भने ‘हेर बाबु ! कमाउन त खुब कमाइयो खान न खुट्नसित । मिहिनेत पनि कम्ता गरिएन तर अहिले याँ सुगर र प्रेशर बढेर खान क्यै हुन्न । दबाई खान बिर्से फुत्रुफुत्रु हुन्छु, बुढियालाई नि सुगर छ गरुङ्गो क्यै गर्न सक्दिने । छोराछोरी सबै आफ्नै धुनमा

छोराछोरी सबै आफ्नै धुनमा । जति कमाए नि मर्दा जानि रित्तै रैछ, निरोगी हुनुजस्तो प्रगति त के हुन्थ्यो !’ बुढा फेरिएछन् अचेल भन्ने अनुमान मैले गरेँ, बुढा आफू रोगिएकोले होला आरोग्यतालाई प्रगति माने ।
कतै कतै राजनीति गर्नु , नेता बन्नु वा कुर्सीमा पुग्नुलाई प्रगति मान्ने मान्छेहरु पनि छन् । मलाई त्यता तर्फ खास रुची नभएकोले धेरै थाहा भएन ।
टन्न कमाएका ती आफन्तपछि म पल्लो गाँउका ज्यामी दाइको कुरा सुन्न पुगेँ जो निकै बलिया र निरोगीको रुपमा चिनिन्थे । उनले सुनाए ‘ के गर्नु बाबु मैले आजसम्म शहरीया औषधी खाको छैन । अलि पहिला एकफेर नराम्ररी कुखत परो (टाइफाइड भो) त्यै नि चार छाक रानीसिन्की र ज्वानाको झोल खाको स्वाट ठिक भो ।’ उनको निरोगिपनाको तारिफ मैले गर्नै परो किनभने मलाई एकबर्ष बिराएर ज्वरो आउने बानी नै छ र एन्टिबायोटिक नखाइकन ठिक हुदैन पनि मलाई त । उनले थपे ‘उमेरमा त अरु चार जनाले बोक्ने दार म भए दुई जनाले नै बोकिन्थ्यो, त्यसै नाइके बनाका होइनन् मलाई । तर के गर्नु, जति गरे पनि बजारतिर घर किन्न सकिएन यैँ झुप्राको झुप्रैमा आनन्द मान्दछु ।’ घुम्दैफिर्दै उनको परिभाषा धन केन्द्रित भयो ।
कतै लोकसेवाले लिने परीक्षा पास गर्नुलाई प्रगति मान्ने समूह पनि छ । यसमा अहिलेका बहुसंख्यक विद्यार्थीहरुलाई मैले भेटेको छु । प्राय: शिक्षित गाउलेहरु यो समूह अन्तर्गत पर्नेजस्तो लाग्छ मलाई । गतिलो मानिने स्थाई जागिरलाई प्रगतिको केन्द्र मान्नेहरु प्रशस्तै पाइन्छन् । मैले चाहि यो प्रगति पनि गर्न सकिन ।
दुई चारजना बुज्रुकहरुको पनि परिभाषा र मान्यता बुझेपछि मेरो निस्कर्ष रहेको छ, प्रगतिको खास परिभाषा मैले ठम्याउन सकिन । यसले ब्यापक क्षेत्र ओगट्ने रहेछ र यसको मुख्य विशेषता भनेको यसको परिभाषालाई आफू अनुकुल वा प्रतिकुल व्याख्या गर्न सकिन्छ । तथापि मैले आफूमा प्रगतिको कुनै गन्ध पाइन । भविष्यमा केही गरिएछ भने यौटा आफू अनुकुलको परिभाषा मैले पनि दिनेछु प्रगतिको !!!!!

रुरु-४ गुल्मी, हाल भक्तपुर

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख