२८ असार २०७७, आईतवार

भारतले लगायो टिकटकमाथि प्रतिबन्ध

एजेन्सी । भारत सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको छ । चीन उत्पत्ति थलो भएका टिकटक लगायत ५९ वटा मोबाइल एप्लिकेशनहरुमाथि प्रतिबन्ध लगाएको हो । टिकटक मोबाइलका सर्वाधिक लोकप्रियमध्येका एक एप्लिकेशन मानिन्छ । यो संसारभरि नै लोकप्रिय मानिन्छ । चीन–भारतबीच तनाव बढ्दै जाँदा भारत सरकारले यो प्रतिबन्ध लगाएको बुझिएको छ ।

भारत सरकारले त्यहाँको सूचना प्रविधि कानूनको धारा ६९ए को प्रयोग गर्दै सो प्रतिबन्ध लगाएको हो । सो धारामा भारत सरकार वा उसका कुनै पनि अधिकार प्राप्त सरकारी पदाधिकारीलाई भारतको सार्वभौमिकता, अखण्डता, राष्ट्रिय सुरक्षा, छिमेकीहरुसँगको सम्बन्ध तथा जनजीवनमा खलल पार्ने खालका लागेमा त्यस्ता कुराहरुमाथि प्रतिबन्ध लगाउन सकिने व्यवस्था छ । भारतमा मात्रै टिकटकका १० करोड सक्रिय प्रयोगकर्ताहरु छन् ।

यी प्रतिबन्धहरु कसरी कार्यान्वय हुन्छ ? त्यो भने हेर्न बाँकी नै छ । तर चाँडै नै भारतमा गुगल प्ले स्टोर र एप्पलको एप स्टोरबाट यी एप्लिकेसनहरु डाउनलोड गर्न नमिल्ने हुनेछन् । कसैले टिकटक लगायत प्रतिबन्धित एप्लिकेसनहरु प्रयोग गर्न खोजे भने पनि इन्टरनेट सेवा प्रदायकको तर्फबाट ‘सरकारको अनुराधेमा यी एप्सहरुसम्म तपाईंको पहुँच निषेध गरिएको छ’ आशयको सन्देश आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
सम्पादक
विज्ञापनको लागि
समाचार प्रमुख