२८ असार २०७७, आईतवार

सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, गोली चल्दा डेढ दर्जन घाइते

मलंगवा । सर्लाहीको धनकौल गाउँपालिका–३, मा आइतबार साँझ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडपमा गोली चलेको छ । गोलीको छर्रा लागेर १८ जना भन्दा बढी घाइते भएका छन् । असार ७ गते हत्या गरिएका रामजल रायको हत्यारालाई कारबाही गर्नुपर्ने र क्षतिपुर्तीको माग गर्दै नेकपा कार्यकर्ता मसाल जुलुश निकालेको समयमा दुबैपक्षबीच झडप भएको हो ।

उनीहरुको अहिले सर्लाही अस्पताल मलंगवामा उपचार भइरहेको छ। धनकौल बजारमा जुलुश निकालेका समयमा कांग्रेसका कार्यकर्ताले हतियारसहित आफुमाथि आक्रमण गरिएको घाइतेहरुले बताएका छन् । कांग्रेसका कार्यकता आफुमाथि नेकपाको कार्यकर्ताले आएर अचानक आक्रमण गरेको आरोप लगाएका छन् ।

घाइते हुनेमा धनकौल २ रणधीर रंजन बर्मा, बैधनाथ सहनी र लक्ष्मण साह (वडा सदस्य) रहेका छन् । उनीहरुको टाउको, हात, खुट्टा र गर्दनमा चोट लागेको छ। त्यसैगरी छर्रा लागेर घाइते हुनेहरुमा धनकौल ३ हरकठवाका रामचन्द्र हजारी नागेश्वर सहनी, महबुब अन्सारी, राकेश कुमार सिंह, रामविनय हजारी, बिलास राय, विजय साह, अरविन्द सिंह, सुनिल महतो, विजय साह, शेख इन्ताज, सुनिल साह, नितेश सिंह, संजित यादव र अरुण यादव रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
सम्पादक
विज्ञापनको लागि
समाचार प्रमुख