७ कार्तिक २०७८, आइतबार

भ्रष्टाचारीलाई किरा पर्छ त ?

आज संसार नै भ्रष्टाचारको महामारीले ग्रसित बन्दा नेपाल पनि सिकिस्तै छ । के त तिनलाई किरा पर्छ त ? नेपाल भ्रष्ट चरित्रको पासोमा हिजोभन्दा बेस्सरी फस्ला कि भन्ने त्रास छैन र ? हुन त, हामी अभाव र गरिबीको मारमा फसेकै होइनौँ, मात्र कृत्रिम अभावको ज्वारभाटा मच्चाइएको हो । आजसम्म विकासोन्मुख देशकै दर्जामा हलो अड्काएर अस्थिर सरकार र अदूरदर्शी नेतृत्व, भ्रष्टाचारको प्रहार, अठोटरहित योजना तथा कार्यान्वयनभित्रको गुमराहले सोला हानिरहेकै छ । नेपालको संविधान २०७२ को भाग २१ अन्तर्गत धारा २३८ र २३९ मा अख्तियार दुरूपयोग अनुसन्धान आयोग गठनको व्यवस्था गर्ने तथा आयोगको काम, कर्तव्य र अधिकारको व्यवस्था उल्लेख छ । भ्रष्टाचार निवारण ऐनको ठेलीलाई बेलाबेलामा सफा गर्न नसक्दा नै माकुराको जालोसँगै मक्काएको पनि हुन सक्छ ।

हुन त, नैतिक मूल्य भएकाले कानुनी मूल्यको आडमा बाँधिनै पर्दैन । कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले भष्टाचार गरी अख्तियारको दुरूपयोग गरेको उजुरी आएमा वा अनुसन्धानका क्रममा भेटिएमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कानुनबमोजिम अनुसन्धान गर्न वा गराउन सक्नेछ भनी संविधानले पनि तोक लगाएकै छ । अनि यता, आयल निगमको जग्गा खरिद विवाद होस् या त नेपाल वायु सेवा निगमले वाइड बडी जहाज खरिद प्रक्रियासँगका अनियमितता प्रकरण, मुलुकमा भ्रष्टाचारको जरो नै घगडान लाग्दैन र ?

दूरसञ्चार प्रदायक कम्पनी एनसेलले कर नतिरेका घटना, ३३ केजी सुन प्रकरण तथा ६ अर्ब घोटाला, ठेकेदार र राजनीतिका कुरामा अख्तियारको जाँगर सञ्चारका डाकसँग यसो आँखा मिच्दै हाई गर्छन् । तब कर्मचारीतन्त्रको पासोबाट कर छली प्रकरणमा मुछिएका साना माछादेखि ठूलाठूला ह्वेल माछा समात्ने चिम्टा कस्तो र कत्रो होला ? यसको जवाफ अमूक छ ।

सन् २०१८ को तथ्याङ्कले फिनल्यान्डलाई सबैभन्दा बढी खुसी हुने देशको रुपमा देखायो । साथमा डेनमार्क, फिनल्यान्ड, आइसल्यान्ड, नर्वे आदि अग्रस्थानमा रहेका छन्, किनकि तिनले भ्रष्टाचार नियन्त्रणका कुरै गर्नुपर्दैन, मात्र आर्थिक आयको चलायमान हुने गरी सरकारी सेवामा जनतालाई खुसी राखेका छन् । भ्रष्ट चरित्रको प्रपञ्चमा सोझाले झमेला व्यहोर्छन् । निरीहको श्रमलाई आफ्नो स्वार्थको जाल फिँजाएर जानाजान या त ओहोदा र अहम्को बुई चढ्नेहरूले भ्रष्टाचार गर्छन् । जनतालाई महँगीको पहाड बोकाएर आलिसान महलमा मग्न बनिरहँदा न्यायको मन्दिरमा शैतानले रडाको मच्चाउँछ । त्रासको बर्को ओढेर मुर्दाघरमा जबर्जस्ती कुरूवा बस्नुपर्दा सेवाग्राहीले शोषण र अत्याचारको चक्रव्यूहमा फस्न विवश बनिरहनुपर्छ । मुलुकले समृद्ध नेपाल : सुखी नेपालीका नारामा सामाजिक सुरक्षाका कन्दराभित्र करतन्त्रको सिकार बोक्दै दगुरेको देखिन्छ ।

सिंहदरबारको सिंह ग्रामीण बस्तीमा गर्जंदा जनता जनार्दनको मनमा सङ्क्रमणको आवाज, द्वन्द्वको दाग, भूकम्पको धङधङेले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र वा संघीय व्यवस्थामा हात लागे शून्य त घोकाउँदै छैन ? सरकारी, गैरसरकारी या त निजी निकायमा अनेकौँ जुक्तिका चङ्गुलबाट भ्रष्टाचार मौलाउँदो छ । स्थानीय नेतृत्वदेखि केन्द्रसम्म हिजोको चुनावी खर्च असुल्ने ध्याउन्नमा, नातावाद, कृपावादको भनसुने शैलीबाट प्रायः सरकारी निकाय स्वच्छताको घेराभन्दा माथि उठ्न चाहेकै लाग्दैनन् । आज बढिरहेका खाने मुखहरुले आँ गरेर सल्बलाइरहँदा देशको ढुकुटी साँच्चै विकासको वृक्षमा प्रयोगशील बन्ला त ?

बीबीसी समाचारमा बताएअनुसार ट्रान्सपरेन्सी इन्टरनेसनलले सन् २०१६ मा सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचाङ्कमा नेपाल २९ अङ्कसहित १३१औँ स्थानमा रहेको बताएको बुझिएको छ । उक्त निकायले ४० भन्दा कम अङ्क ल्याउने देशलाई एकदमै भ्रष्ट देशको सूचीमा राख्ने गरेको पाइन्छ । यसमध्ये सन् २०१७ मा ९ स्थान माथि उक्लेर नेपाल ३१ अङ्कसहित १८० वटा देशमध्ये १२२औँ स्थानमा उक्लिएको तथ्याङ्क छ । तर, सन् २०१३ मा नेपाल ३१ अङ्कसहित नै १ सय १६औँ स्थानमा थियो । नेपालको भ्रष्टाचारको जरो बनेको राजनीतिभित्रको खुलेआम भागबन्डे संस्कारभित्र सुधारको बाजा पनि त बेमौसमी छ । अक्षम कर्मचारीलाई नातावादले काखी च्यापेर माथि पु¥याउँदा देशले लगानी, प्रक्रिया र प्रतिफलमै भ्रष्टाचार नियन्त्रणको मार्गमा काँडे तार बेरेको विडम्बना छ । तब विकास र विनास सँगै दगुर्छन्, कलियुगमा जित त असत्यकै हुन्छ । सत्य तीतो हुन्छ, जनतालाई सास्ती दिएका सबै कुण्ठा बजारमा व्याप्त हुँदैनन् ।

अत्याधुनिक विकासका कुरा, सेवासुविधाका बाटामा, सिन्डिकेट पद्धतिको जन्जीरले सर्वसाधारणको स्वतन्त्र र स्वच्छ कर्म गर्ने आशा मर्छ, न्यायको डोरोमा ग्रहण लाग्छ । सरकार भ्रष्ट हो या भ्रष्टाचार नियन्त्रक भन्ने प्रश्नमा समस्या घट्यो या बढ्यो भन्नुभन्दा जनताले सुखसुविधाको उपभोग गर्ने रणनीति सरकारको नजरमा बढ्दै छ या घट्दै छ भन्नुपर्ने पनि त रहेछ । देशका होनहार प्रतिभालाई कथित मुठ्ठीभरका व्यक्तिले पलायन हुन विवश बनाउँछन्, तब पावन श्रीखण्डको उद्यानभित्र केवल टट्टीको दुर्गन्ध फैलिन्छ । जनताले अनावश्यक हैरानी व्यहोर्दा पनि चुपचाप सहनुपर्छ । कर्मको नैतिक बन्धनभित्रको मूकपीडामा जलिरहनुपर्छ ।

कोही गलगिज्ज खाने, फोहोरदानीमा कुहाएर फाल्ने कोही पापी पेट भर्न नसकेर तड्पी–तड्पी मर्नुपर्ने बाध्यतालाई केवल भ्रष्टाचारले बुई बोकाएको हो । हुँदाखाने र हुनेखानेका खाडलभित्र फसेर मानवता, नैतिकता, आदर्शता, कर्तव्यबोधमा धमिरा लाग्दा आज मुलुक कछुवाकै तालमा छ । काँचो धागोलाई फलामको दाम्लो हो ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख