७ कार्तिक २०७८, आइतबार

अनि मेरो मनमा आगो बल्यो

सानैदेखि बुवाले भन्ने गर्नुहुन्थ्यो कर्म प्रधान जीवन व्यतित गर । जस्तो कर्म गर्‍यो । उस्तै फल प्राप्त गर्नेछौं भन्ने कुराले सदैव हामीलाई प्रेरित गरि रहने काम गर्नु भयो । बाल्यकालमा कापी र किताव खरिद गर्ने पैसा नभएर साह्रै कष्टको जीवन गुजार्नु पर्ने वाध्यताले गर्दा विवश भएर भारतीय सेनामा भर्ती हुन उहाँ भारततर्फ हानिनु भयो । गरिबीको मारले यसरी थिचिनु भयो कि जुन मार र भारलाई थेग्न सक्ने साहस र शक्ति त्यो बाल्य अवस्थामा उहाँले जुटाउन सक्नु भएन ।
फलस्वरुप दिनहुँ गरिवीको जातोमा पिल्सिएर जीउनु भन्दा दुःख संघर्ष जे गर्नु परे पनि केहि पैसा आर्जन गर्न सकिन्छ र लालाबालाको भविष्य राम्रो बनाउन सकिन्छ भन्ने सपना लिएर उहाँ पर्देशिनु भएको थियो ।
आफ्नै जन्मभूमिमा त कठोर मेहेनत र परिश्रम गरेर एक छाक खान, एक सरो लगाउन र एक थान पुस्तक कापी किन्न नसक्ने अवस्था थियो भने पराई भूमिमा सजिलै सबै कुरा कहाँ मिल्थ्यो र ?

भारतिय सेनामा भर्ती भई सके पछि मनमा एक प्रकारको आनन्द र सुखद भविष्यको सपनाले प्रफुल्ल बनाएता पनि ट्रेनिङ्गको दौडानमा उहाँले पाउनु भएको दुःख कष्ट र वेदनाका किस्साहरु सुन्दा अहिले पनि कल्पना सागरमा डुब्दा मेरो मनमा गाँठो परेर आउछ । म अनायासै बुवाको त्यस विषम र निर्मम कथा व्यथाको सुस्केरा सुन्दा भक्कानिने गर्दछु । उहाँ भन्नुहुन्थ्यो, चार हात पाउ टेकी घिस्रिएर हिड्नु पथ्र्यो । ट्रेनरले भने जस्तो भएन भने छालाको जुत्ताको त्यो हिलले ढाँडमा रगेट्ने काम हुन्थ्यो ।
शरीर रगताम्य हुदाँ होस् या गहबाट बलिन्द्र धारा आशुँका ढिक्काहरु झर्दै गर्दा नै किन नहोस् अभ्यास छोड्न मिल्दैन थियो । प्रचुर शारिरिक व्यायाम पश्चात पनि त्यस बेला पेटले मागे जति खान पाईदैन थियो । पेटको भोक, शरिरको पिडा र मनको जलनको चक्रब्युहमा जीवन घोटियो ।
त्यस बखतको पिडा र दुख भोग्दै गर्दा कहिलेकाही त मनमा लाग्ने गथ्र्यो कि व्यर्थै आफ्नो देश छाडेर यो अर्कोको देशमा आईएछ । सँगै भर्ति भएका कति साथीहरु त्यो पेलान सहन गर्न नसकी तालिमबाटै घर भागेर आए । कति मुच्र्छा परे । कति बेहोस् भएर ढले । कतिले हरेस खाए । आफ्नै आँखै अगाडि साथीहरुको त्यो हाल देख्दा मेरो मनले पनि कहिलकाँही हरेस मान्न खोज्थ्यो । तर, त्यस बेला न त म तालिम छाडेर भाग्न सक्थे न त हार मानेर आत्मसमर्पण ! म सँग सहनु र त्यो कठोर र कहाली लाग्दो अवस्थाको सामना गर्नुको विकल्प थिएन ।
मेरो मानसपटलमा आमा बुवा, श्रीमती र छोराछोरीको तस्बिर फनफनी घुम्ने गथ्र्यो । म सोच्ने गर्थे मैले यहाँ छाला रगेड्दा दुई चार पैसा आमदानी गरेर बचाउन सक्छु तर त्यहाँ गाउँमा रात दिन नभनि पेलिदा पनि मुखमा माँड लगाउन गाह्रो हुन्छ । त्यसैले यो दुःखले पाएको अवसर पनि छाड्ने हो भने उनीहरुको भविष्य के होला ? मिठो मसिनो खाने र राम्रो लगाउने सपनाको के होला ? गाउँको त्यो दुःख दर्दले थिलथिलो भएर यहाँ सम्म भागेर आएको मान्छे फेरि कुन मुख लिएर गाउँनै फर्किने भन्ने चिन्तनले पिरोल्ने गर्दथ्यो । फलानोको छोरा त इण्डियन आर्मी भयो रे भन्ने सुन्दा गर्वले चौडा भएको आमाबाको छात्ती कत्रो बन्ला ? यी सबै कुराहरु एक पछि अर्को मनमा खेल्दै गर्दा मन झनै दरिलो र बलियो बन्ने गर्दथ्यो ।

म अठोट गर्थे जत्रो सुकै कष्ट भोग्न किन नपरोस् यो अवसरबाट हात धुने छैन । जति धेरै दुख आई पथ्र्यो उतिनै म दृढ संकल्पित हुँदै जान्थे । पल पलको रगटाईले म मजबुत र हिम्मतिलो बन्दै जान्थे । यसरी दिन, हप्ता, महिना र वर्ष वित्दै गयो र पछि त बानी पर्दै पनि गयो । हरेक कुरा सुरुमा गाह्रो लाग्छ तर पछि नियमित गर्दै जादाँ बानी पर्दै जान्छ । गाह्रो भयो भनेर बिचैमा छाडेर कहिल्यै पनि भाग्नु हुदैन । त्यसै माथि हामी जस्तो योद्धाले मैदान छाड्नु हुदैन । मैदान छाड्नेहरु वास्तवमै कायर हुन्छन् । गोर्खालीलाई कायर हुने अधिकार छैन । शास जाओस् तर पूर्खाको विरासतमा आँच नआओस् भन्ने अठोटका साथ अघि बढ्नु पर्छ भन्नुहुन्थ्यो । बुवाको यस प्रकारको कथन र शब्दहरुबाट म निरन्तर प्रभावित हुन्थे । उहाँको मुखार विन्दबाट निस्कने अनमोल शब्द रत्नहरुले मेरो मनमा अपार साहस र हौसला भरिन्थ्यो । उहाँका कुराहरु मेरो लागि एक प्रकारको शक्ति जस्तै हुन्थ्यो । भारतीय सेनामा सेवा गर्ने क्रममै आध्यात्मिक ज्ञानहरु ग्रहण गर्दै जानु भयो । विभिन्न सत्सङ्गहरुमा सहभागी हुँदै भजन किर्तन, ध्यान तथा धर्मग्रन्थहरुको धरैथोरै अध्ययन गर्दै जानु भयो । आध्यात्मिक गुरुहरु सँगको सत्सङ्गले उहाँमा आध्यात्मिक चेतना र ज्ञान वृद्धि हुँदै गयो । उहाँले प्राप्त गरेको ज्ञानगुनका कुराहरु अत्यन्तै रोचक ढङ्गले हामीलाई सुनाउनुहुन्थ्यो । सायद आध्यात्मिक शक्तिकै कारणले पनि हुन सक्छ उहाँमा अत्यन्तै तेज इच्छाशक्ति, दृढ संकल्प र कर्मप्रमी हुनुहुन्छ ।
आज ७६ औं वसन्त सम्म आई पुग्दा पनि उहाँको इच्छाशक्ति, कर्मप्रेम र साहसमा कुनै कमी आएको छैन ।

बुवाको साहस, त्याग र समर्पणका गाथाहरु श्रवण गर्दै गर्दा त्यस बखत म पनि इण्डियन आर्मीनै बन्छु भन्ने कल्पना गर्थे । तर बुवाले कहिल्यै आर्मी बन्न तिर हामीलाई उत्प्रेरित गर्नु भएन । उहाँ सधै भन्नुहुन्थ्यो, मैले आफ्नो सौर्य, पराक्रम र उर्जा भारतमा खर्चिए भने तिमीहरुले आफ्नो देशको हितमा आफ्नो जीवन समर्पित गर्नु पर्छ । जनहित, जनप्रेम र जनसेवामा आफूलाई होमिदेउ । त्यस्तै क्रममा एक पटक उहाँले प्रथम शहिद लखन थापा र ४ सहिदहरु मध्येको कान्छो सहिद गङ्गालाल श्रेष्ठको प्रसङ्ग कोट्याएर भन्नुहुन्थ्यो लखन थापा र गङ्गालालहरुले देशको लागि ज्यान दिए र इतिहास निर्माण गरे र अन्तत देशलाई स्वतन्त्र बनाई छाडे ।
त्यस बखत उनीहरुले देशको लागि रगत बगाए भने आज पनि तिमीहरुले रगत नै बगाउनु पर्छ भन्ने कदापी होइन । कम्तीमा देशको विकासको लागि कुनै कुनै प्रकारको रचनात्मक कार्य तर्फ आफूलाई अग्रसर बनाउ । तिम्रो कर्मले देश र समाजको कल्याण होस् । देशको उत्थान र उन्नतिको लागि तिम्रा शब्दहरु, तिम्रा सोचहरु र तिम्रा कर्महरु प्रेरणादायी र फलदायी सावित हुन सकोस् । जत्रो सुकै आँधीबेहेरी सँगको सामना गर्नु परेता पनि अविचलित आफ्नो कर्ममा लाग्दै जाउ । मार्गमा आई पर्ने वाधा व्यवधानहरु भन्दा सशक्त र खरो तिम्रो इच्छाशक्ति होस् । कुनै पनि वाधा अड्चनले तिम्रो स्वर्णिम कर्मलाई निस्तेज पार्न नसकोस् । अर्जुनको वाण जस्तै होस् तिम्रा मुखबाट निस्किने शब्दहरु । हो, यस्तै अद्भूत शब्दहरुले हामीलाई प्रेरणा प्रदान गर्दै आउनु भयो बुवाले ।
बुवाको कर्मवाण, शब्दवाण र सत्यवाणले मेरो मनमा असिमित उर्जा र कम्पन पैदा गर्दै मलाई राष्ट्रको एक सबल, सक्षम र योग्य व्यक्ति बन्न प्रेरित गरिरहेको छ र सदा गरिरहनेछ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख