२१ जेष्ठ २०७७, बुधबार

सन्तुलित विकास हुनेगरी आगामी आवको बजेट ल्याउन सुझाव

अत्तरिया । सुदूरपश्चिम प्रदेशसभा लेखा समितिका सदस्यहरुले सन्तुलित विकास हुनेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । सबै क्षेत्रको सन्तुलित विकास हुनेगरी बजेट नल्याए त्यसले असन्तुष्टि जन्माउने र त्यो विद्रोहको रूपमा परिणत हुनेतर्फ पनि उनीहरुले सरकारलाई सचेत गराएको छ ।

सोमबार सुदूरपश्चिम प्रदेशसभा लेखा समितिको बैठकमा बोल्दै उनीहरुले पहुँच र प्रभावको आधारमा नभइ जनताको आवश्यकताको आधारमा प्रदेशअन्तर्गतको सबै निर्वाचन क्षेत्रमा सन्तुलित बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । समितिका सभापति नन्दा कुमारी बमले कोरोना प्रभावितका लागि विशेष राहत कार्यक्रम ल्याउन, क्वारेन्टाइनलाई व्यवस्थित बनाउन तथा परीक्षणको दायरा बढाउनेलगायतको सुझाव दिइएको बताउनुभयो ।

समितिका सदस्यहरूले मन्त्रालयलाई सबै क्षेत्र समेटिने गरी बजेट ल्याउन सुझाव दिएको पनि उहाँले बताउनुभयो । “विगतका वर्षहरूमा ल्याइएको डल्लो बजेटका कारण योजना कार्यान्वयनको अवस्था फितलो हुने भएकाले सबै योजना रातो किताबमै समेटिने गरी बजेट ल्याउन सदस्यहरूको सुझाव छ”, उहाँले भन्नुभयो, “सांसद पूर्वाधार विकासका योजनाहरू पनि रातो किताबमै समेट्न सुझाव दिएका छौँ ।”

सभापति बमले भन्नुभयो, “प्रदेश सुशासन ऐनलाई पालना नगरेको पाइएकाले अब उप्रान्त सबै ऐन पालना गर्न सरकारलाई आग्रह गरिएको छ ।” समितिका सदस्य अमरबहादुर साउदले विगतका वर्षहरूमा भएका कमीकमजोरीलाई सच्याएर आगामी बजेट ल्याउन सुझाव दिएको बताउँदै सबै निर्वाचन क्षेत्रमा सन्तुलित बजेट विनियोजन गर्न आग्रह गरिएको बताउनुभयो ।

प्रदेश पूर्वाधार विकास कार्यक्रमले प्रत्यक्ष तथा समानुपातिक प्रदेशसभा सदस्यहरूमा विभेद गराइएको भन्दै यो कार्यक्रमलाई हटाएर सरकारले सबै सदस्यलाई सम्मानजनक ढङ्गले सांसद विकास कार्यक्रम ल्याउनुपर्ने सुझाव दिएको समितिले जनाएको छ ।

बैठकमा भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले सबै क्षेत्रको सन्तुलित विकास हुने गरी आगामी आर्थिक वर्षको बजेट ल्याइने बताउँदै कोरोनाका कारण अवरुद्ध भएका योजनालाई समेत पूर्ण कार्यान्वयन हुने गरी आगामी बजेट ल्याउने जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
सम्पादक
विज्ञापनको लागि
वरिष्ठ संवाददाता
संवाददाता