७ कार्तिक २०७८, आइतबार

विद्यार्थी आन्दोलन, स्ववियु र अपेक्षित कार्यदिशा

योगेन्द्र रावल


त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले स्ववियु निर्वाचनको पूर्वतयारीमा जुट्न त्रिभुवन विश्वविद्यालय मातहतका सम्पुर्ण क्याम्पसहरुलाई परिपत्र गरेसँगै विश्वविद्यालय तथा क्याम्पसहरुमा विद्यार्थीहरुको महान चाड स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको माहोलले रौनकता छाएको हो ।

जसलाई हामी “मिनी संसद” पनि भन्ने गर्दछौं । ऐतिहासिक विद्यार्थी आन्दोलन २०३५/३६ को उपलब्धीका रुपमा रहेको विद्यार्थी हकहितका निम्ती स्थापित स्ववियु निर्वाचनलाई निकै महत्वका साथ हेरिएको पाइन्छ । विद्यार्थी राजनीति हुँदैै नेपाल देशको नेतृत्व गर्ने जोस,जाँगर र हौसला लिएर हरेक दिन नविन दृष्टिकोणका साथ नविन संकल्प लिएर विश्वविद्यालय तथा क्याम्पसहरु धाउने विद्यार्थी नेताहरुलाई उत्साहित तुल्याएको छ ।

वास्तवमा वीर योद्धा क्याप्टेन यज्ञबहादुर थापा र भिमनारायण श्रेष्ठलाई पञ्चायतीक्रुर प्रशासनले २०३५ साल फागुनमा कमला नदिको बगरमा निर्ममतापूर्वक हत्या गर्यो । २०३५ साल चैत्रमा पाकिस्तानमा विश्व जनमतकाविरुद्ध प्रधानमन्त्री जुल्फिकर अली भुट्टोलाई रावल पिण्डिको जेलमा फाँसी दिईयो । यी दुवै फाँसीका विरुद्ध उर्लिएको आक्रोस र असन्तोषले २०३५/३६ सालमा ऐतिहासिक विद्यार्थी आन्दोलनको सुत्रपात भयो । सुरुका दिनमा राजधानी र शहर केन्द्रित आन्दोलनको राप र तापबाट भएभित पञ्चायत विद्यार्थी आन्दोेलन समक्ष घुडा टेक्ने वाद्य भयो । फलस्वरुप राजनीतिक शक्तिहरु प्रतिवन्धित अवस्थामा समेत कलेजहरुमा स्वतन्त्र विद्यार्थी युनियनको वैधानिक बाटो खुल्ला भएको थियो ।

तर आजको दिनमा दुखका साथ भन्नु पर्छ –यस्तो स्वर्णिम इतिहास बोकेको, विद्यार्थी हक–हितका आवाजहरु बुलन्द गर्ने साझा मञ्च (स्ववियु) लाई विश्वविद्यालय क्याम्पसहरुमा गलत राजनीतिको संज्ञा दिदै सिङ्गो विद्यार्थी राजनीतिलाई नै घृणित बनाउने दुस्प्रयास भइरहेको छ । हाम्रो बिडम्बना के छ भने‘सबैभन्दा बढी राजनीति हुने देशमा नेपाल पर्दछ तर राजनीतिलाई सहि प्रयोग गर्ने देशको सूचीमा निकै पछाडी पर्दछ ।’ हामी शिक्षा क्षेत्रमा विज्ञता हासिल गरि शिक्षा क्षेत्रमा काम गर्नेलाई –शैक्षिक माफिया, देशको भू–गोल सम्बन्धको विज्ञलाई भू–माफिया, वैदेशिक रोजगार सम्बन्धमा काम गर्नेलाई वैदेशिक दलाल, जल सम्बन्धको विज्ञलाई जल माफिया, राष्ट्र निर्माणमा हिडेका प्रत्येक नेताहरु त चोर नै भइहाले ! हो यो गलत राजनैतिक संस्कारले हामी ग्रसित छौं । हाम्रा क्याम्पस विश्वविद्यालयहरु बिग्रेको राजनीतिले गर्दा हो भन्ने आम मान्यता जस्तै बनेको छ । तर, यो यथार्थ हैन ।

‘कुनै पनि विश्वविद्यालय या क्याम्पस राजनीतिले बिग्रदैन बरु राजनीतिको गलत व्याख्या र प्रयोगले बिग्रन्छ ।’ नेपालमा त्यहीं भइरहेको छ । कुनै पनि देश नीति निर्माणबिना चल्न सक्दैन । बरु, त्यस्तो निती देशको हितमा हुनुपर्छ । विश्वविद्यालयको नीति विद्यार्थीको हितमा हुनुपर्दछ । यसरि हेर्दा ‘नेपाल धेरै राजनीतिले बिग्रेको होईन बरु सहि राजनीति नहुँदा बिग्रेको हो ।’ यो बदल्ने मुख्य जिम्मेवारी पनि हामी शिक्षित युवा विद्यार्थीको हो ।

समाजमा एउटा ठूलो जमातले विद्यार्थी राजनीतिलाई फोहोरी खेलको रुपमा चित्रण गरेको पाइन्छ । म एक राजनैतिकशास्त्रको विद्यार्थी पनि भएकोले यसलाई स्विकार्दिन । वास्तवमा ‘राजनीति फोहोर खेल हुँदै होइन बरु यो सबैभन्दा गलत राजनैतिक संस्कारको परिणाम हो ।’ राजनीतिप्रतिको वितृष्णाको परिणाम हो । राजनीतिप्रतिको घृणाभाव वा वितृष्णालाई परिवर्तन गर्न राजनीतिक संस्कार परिवर्तन गनुपर्छ, त्यसका लागि नयाँ पुस्ताले हिम्मत गनुपर्छ ।

हामीले विद्यार्थी संगठन बिचकोे प्रतिस्पर्धाबाट आउने साझा संस्थाको नाम नै “स्वतन्त्र विद्यार्थी युनियन”भनेर नामाकरण गरेका छौं । तर,कतिपय अवस्थमा यो निर्वाचनमा आफ्नो संगठन निर्वाचित गर्न अस्वस्थ प्रतिस्पर्धा पनि भएको पाइन्छ । पदमा पुग्न जस्तोसुकै कार्य गर्न तयार हुने र पदमा पुगीसकेपछि त्यसको दुरुपयोग गरी आफ्नो निजी जीवन, परिवारवाद, राजनीतिक आस्थानुसार पार्टी र गुटलाई समृद्ध बनाउने चिन्तन हावी हुँदा स्ववियुको गरिमा नै ध्वस्त हुन पुग्दछ । हो, यस्तै राजनैतिक संस्कारले प्रश्रय पाउँदा नेपालको विद्यार्थी आन्दोलन एवं राजनीति बदनाम मात्र हुनपुगेको छैन, राजनीति सेवाभन्दा जीवनस्तर माथी उठाउने ‘व्यवसाय’ हो भन्ने गलत नजीर स्थापित हुन पुगेको
छ ।

नेपालको सिंगो राजनीतिमाथि नागरिकको वितृष्णा जागिरहेको बेला त्यसलाई बदल्ने दायित्व नयाँ युवा पुस्ताको हो । त्यसको उपयुक्त‘मञ्च’ हो विद्यार्थीहरुको साझा संस्था स्ववियू । विगतका कमिकमजोरीलाई सच्याउँदै अब आसन्न स्ववियु निर्वाचनमा युवा पुस्ताले राजनैतिक आचरण÷संस्कारको बारेमा बृहत छलफल गर्न आवश्यक देखिन्छ । किनकी स्ववियु नितान्त शिक्षित युवाविद्यार्थीहरु प्रतिनिधि संस्था हो । त्यहाँ सहभागी हुने सबै शिक्षित युवाहरु नै भएकोले समाजको आशा र भरोसालाई पुनःजागृत गर्नुपर्ने बेला आएको छ । हरेक युवाले यो पुस्ता सफा भएमात्र देश सफा र समृद्ध हुन्छ भन्ने हेक्का राख्न जरुरी छ । युवापुस्ताले उचित स्थान नपाउनु, पुरानो पुस्ता गलत राजनैतिक संस्कारबाट ग्रसित हुनु र राजनीतिमा स्वस्थ प्रतिस्पर्धालाई आत्मसात् गर्न नसक्नु अहिलेको राजनीतिका विकार पक्षहरु हुन् । त्यो मानसिकतालाई बदल्नका लायि अबको स्ववियूमार्फत युवा विद्यार्थीहरुले उदाहरण प्रस्तुत गर्नु पर्छ ।

अहिले आरोप लागिरहको छ, ‘विश्वविद्यालयमा धेरै राजनीति गर्ने भएकोले समस्या आएको छ ।’साँचो अर्थमा विश्वविद्यालयमा राजनीति गर्नेहरु निकै कम छन् । तर, धेरैले राजनीतिलाई दुरुपयोग मात्र गरिरहेका छन् । विश्वविद्यालयमा सहि राजनीति चेतना र स्वच्छ प्रतिस्पर्धाको अभाव छ । सहि र नैतिकताको राजनीति गर्ने विद्यार्थी राजनीतिमा टिक्नै नसक्ने अवस्था छ । अब नयाँ युवा विद्यार्थीहरु यो कुरा बदल्न तयार हुनेकि नहुने् ? नैतिकताको खडेरी परिरहेको नेपाली राजनीतिलाई स्ववियूमार्फत विद्यार्थीहरुले उदाहरण प्रस्तुत गर्नेकि नगर्ने ? यज्ञ प्रश्न यहीं हो । यसका साथै स्ववियू निर्वाचनमा मत प्रभावित गर्न धेरै संगठन र उम्मेदवारहरुले नानाथरी उपाय अपनाइरहेको विगतलाई छिचोलेर आम विद्यार्थीको तहमा सहि राजनैतिक विचार प्रवाह गर्न सकिदैन ? हो हरेक युवाविद्यार्थीले यि प्रश्नहरुको समिक्षा गर्नै पर्दछ । त्यसो गरे मात्र स्ववियूको गरिमा रहन्छ । अन्याय,अत्याचारकोविरुद्ध विद्यार्थी नेताहरुलाई लड्न प्रेरित भए मात्र स्ववियूबाट नेपाली राजनीतिमा नयाँ आशा जगाउन सकिन्छ ।

तसर्थ, हामी चाहन्छौं विश्वविद्यालयमा हरेक दिन राजनितिक बहस हुनुपर्छ । विश्वविद्यालयमा राजनीति हुनुपर्दछ । तर, त्यो आमविद्यार्थीका चिन्ता र चासोहरुलाई निरुपण गर्ने तर्फ केन्द्रीत हुन जरुरी छ । विश्वविद्यालयको सेमेष्टर प्रणाली, भृकुटीमण्डपको व्यापारजस्तो शिक्षित युवाहरु ठग्ने स्थल बन्नु हुँदैन । हाम्रा अनुसन्धान केन्द्रहरुलाई चुस्तदुरुस्त पार्दै विद्यार्थीको सहज पहुँच र सहभागिता सुनिश्चित गर्नका लागि पहलकदमी लिनु पर्दछ । समय बदलीएको छ । हाम्रा आवश्यकता बदलीएका छन् । त्यसैले हामीले पढ्ने पाठ्यक्रम हामीले जिउने जीवन पद्धतिसँग जोडिने खालको हुनुपर्दछ । विश्वविद्यालयमा पढ्ने विद्यार्थीको सपना युरोप, अमेरिका, जापान, अष्ट्रेलियानभई नेपाल नै हुनुपर्दछ । त्यसका लागि अनुसन्धानमा आधारित युगानुकूल शिक्षा हाम्रो पाठ्यक्रममा समावेश गरिनुपर्छ । उच्च शिक्षाको पहिलो रोजाई हाम्रा आफ्नै क्याम्पसहरु हुने अवस्था सिर्जना गर्न विश्वव्यापी मापदण्डको स्तरमा नेपाली शिक्षा व्यवस्थालाई पुर्याउनुपर्छ । विद्यार्थीमा भएका अन्तरनिहीत क्षमतालाई प्रस्फुटन गर्न सहजीकरण सिकाई केन्द्रकोे रुपमा शिक्षालयलाई स्थापित गर्ने शिक्षा प्रणाली आजको आवश्यकता हो । त्यसतर्फ विश्वविद्यालय अग्रसर हुनुपर्छ । कुनै राजनीतिक पार्टीको आडमा नभई खुला प्रतिस्पर्धा, योग्यता र प्राज्ञिक श्रेष्ठताका आधारमा विश्वविद्यालयका पदाधिकारीहरु नियुक्त हुने प्रणाली स्थापित गरिनुपर्छ । जेहेन्दार, गरिब तथा सीमान्तकृत विद्यार्थीलाई उच्च शिक्षा सुनिश्चितताका लागि बृहत छात्रवृत्ति परियोजना विश्वविद्यालयले सञ्चालन गर्नुपर्छ । स्ववियूलाई ‘Leadership Grooming School’ का रुपमा स्थापित गर्न विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय सवालमा तालिम,गोष्ठी, सभा, सेमिनार, नेतृत्व विकासका लागि विश्वविद्यालयले सहयोग गर्नुपर्दछ । हो यसैका लागि हो विद्यार्थी राजनीतिको आवश्यकता । यसैको लागि चाहिने हो सक्षम नेतृत्व । विश्वविद्यालयमा राजनीति बन्द गर्ने अनि असल नेतृत्व खोज्ने प्रवृतिले हामीलाई कहीं पुर्याउँदैन । त्यसैैले हाम्रा अडिटोरियम हलहरुमा विभिन्न बहसका कार्यक्रमहरु सञ्चालनका लागि सबै तयार हुनुपर्दछ ।

त्रिभुवन विश्वविद्यालयको कुरा गर्ने हो भने विज्ञान केन्द्रीय विभागबाहेक सबै विभागहरुमा विद्यार्थीको संख्या घट्दोक्रममा छ । केही विभागमा प्राध्यापक त हुनुहुन्छ तर दुईजना विद्यार्थी समेत छैनन् । अधिकांश मानविकी संकायका विभागहरुमा विद्यार्थी भर्ना दर शून्य छ । शिक्षाशास्त्र केन्द्रीय विभागको हालत पनि यो भन्दा फरक छैन । के यही अवस्थामा विश्वविद्यालय अघि बढ्न सक्छ ? के हामीले खोजेको विश्वविद्यालय यस्तै हो ? के यहीं अवस्थामा विश्वबजारमा प्रतिस्पर्धा गर्ने सक्ने विद्यार्थी जन्माउन सक्दछ विश्वविद्यालयले ?सक्दैन । हो, यही अवस्था फेर्न विश्वविद्यालयमा स्ववियू निर्वाचन अपरिहार्य छ । जुनसुकै संकाय पढे पनि अब “आमविद्यार्थीहरुमा देश, समाज र आफ्नै बारेमा बहस र अध्ययन गराउने बानीको विकास गराउँनै पर्छ ।” शासन, प्रशासन जे चलाए पनि विश्वविद्यालयबाटै उत्पादित भएका विद्यार्थीले नै यो देश चलाउने हो । अब हरेक विश्वविद्यालय र क्याम्पसमा क्रियाशिल स्ववियुले विश्वविद्यालयबाट उत्पादित जनशक्तिलाई सामाजिक प्राणी बनाउन मद्दत गर्नुपर्छ, अनि मात्र, स्ववियुको गरिमा र सार्थकता रहन्छ । यसर्थ, स्ववियूलाई प्राज्ञिक बहसको थलो किन नबनाउने ?

(लेखक नेविसंघ, त्रिभुवन विश्वविद्यालय समिति, कीर्तिपुरका सचिव हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख