२४ श्रावण २०७९, मंगलबार

कथा कोभिड–१९ सँग लडिरहेका सिपाहीहरुको

लकडाउन कहानी – ३

सामाजिक संन्जालहरुमा छरिएका फोटाहरु, प्रसारण गरिएका भिडियोहरुमा देखिएको चिच्चाहट, कहालीलाग्दो भयका शब्दहरुले पोतिएका वालहरुबाट पहिले पहिलेका विश्व युद्धहरुको त्यो आततायी अबस्थाको सहजै अनुमान लगाउन सकिन्छ । फरक यती होला त्यस बेला एक मानिसले अर्को मानिसलाई निमिट्यान्न पार्न, एक जातीले अर्को जातीलाई समाप्त पर्न, अनि विश्वलाई आफ्नो हातमा राखेर विश्व सम्राट बन्ने होडमा मानिसले नै युद्ध मच्याएको थियो ।

अहिले मानिसले आततायी रुपमा पृथ्वीलाई गरेको दोहनको कारण निस्किएको सानो जिबले युद्धको हुँकार छोडेकोछ । त्यसबेला विश्वका मानवजातीहरु २ भागमा बाढिएका थिए र एकले अर्कोलाई निमिट्यान्न पारेकोमा मदमस्त हाँसोमा रमाउँथे । आज विश्व एक छ सबै मानवजाती एक छन्, एकअर्कोले मानवजातीको रक्षाको लागी प्रार्थना गरिहेकाछन् ।

त्यो बेला बम, बारुदको भयानक कम्पन, राइफलको गोलीको झंकार, ट्याङ्करको बहुलठ्ठी तण्डाब विच विचरा खाँकी बस्त्रधारी सिपाहीहरु एक पछि एक लडिरहेका हुन्थे । नत उनीहरुको क्रन्दन सुन्ने कोही थिए, नत स्याहार गर्ने, नत उपचार गर्ने । शिकारीले शिकार गरे जसरी एक माथि एकको चाँगमा मुछ्र्ति ति सिपाहीहरु पानी विनाको माछा जसरी छटपटाइरहेका हुन्थे । आज ठिक उल्टो छ, नत कतै बमबारुदको कम्पन छ, न राइफल भिरेका, ट्यांकर कुदाइरहेका सिपाहीहरु देखिन्छन् तैपनी मानिसहरु छटपटाई रहेकाछन्, एक पछि अर्को लाशहरु थपएिकाछन् नत त्यो लासलाई छुन कोही आउछ नत तिनका आफन्त भन्नेहरु, प्रेमी भन्नेहरु सबका सब दुई कोष टाढाबाट दुई थोपा आँशु समर्पन गर्दै अन्तीम विदाई गरि रहेकाछन् ।

छन त ति सेतो बस्त्रधारी मानवसेवामा समर्पित सिपाहीहरु, स्वास फेर्न नसकेर छटपटाई रहेकाहरुलाई भ्यान्टीलेटरको सहायताले पुर्नजन्म दिन ठुलो मेहनत गरिरहेकाछन् । खाँकी बस्त्रधारी सिपाहीहरु मानवजातीलाई शिकार गर्दै मदमस्त रमाउथे, सेतो बस्त्रधारी सिपाहीहरु बाच्नको लागी विन्ती गरि रहेका मानवहरुलाई जीवन दिन डटिरहेका थिए, यति फरक थियो, सेतो र खाँकी बस्त्रधारी सिपाही विच ।

हुनत आज पनि विश्व मेरो काबुमा छ, भन्नेको कमि छैन् । हजारौ हजार माइल टाढा सम्म ति मानवजातीलाई नास गर्न प्रहार गर्न सक्ने क्षेप्यास्त्रहरु नबनेका होइनन् । कराडौं ति खाँकी बस्त्रधारी सिपाहीहरु पनि पालीएकाछन् । तर प्रकृतीले यसरी छल गर्यो, ति सबै निकम्मा सावित भए । निकम्मा मात्र होइन ति बस्त्रधारीहरुलाई जोगाउन थुनेर राख्नु परेकोछ । ति महान बैज्ञानिक आबिष्कारहरुको बटम हातमा लिएर बसेका अमेरिका, उत्तर कोरिया देखी चिनसम्मका आजका महापुरुषहरुको होस् उडेकोछ । लडाकु युद्ध बिमान, युद्धपोतहरु अनि त्यो बम बर्षक बिमानहरु प्रयोजनहिन भएकाछन् । खियाँ लागेकोछ, निकम्मा साबित भएकोछ सायद प्रकृतीले ति व्यपारीहरुलाई महसुस दिलाउदैछ हे मनुस्यहरु हो तिमीहरु मेरो दोहोनमा लागी रहन्छौं भने तिम्रो दोहोन गर्न मलाई रत्तिभर लाग्दैन् ।

आज यो कहानी लेखी रहदा विश्वभरि १७ लाख मानिसहरु कोभिड–१९ बाट संक्रमित भएकाछन् । दिनमा ५००० सम्म मानिसहरुको मृत्यु भैरहेकोछ । हाल सम्म १ लाख भन्दा बढि मानिसहरुले देह त्याग गरि सकेकाछन् । भण्डै १२ लाख मानिसहरु यस भाइरससँग अस्पतालको वेडमा जुधिरहेकाछन् । ति लाखौं विरामीहरुको जीवन बचाउन लडिरहेका छन् ति सेतो बस्त्रधारी सिपाही नर्श, डाक्टरहरु । मैले पढेको थिए जसले एक जीवन बचाउँछ त्यो हिरो कहलिन्छ तर सयौ जिवन बचाउनेहरु नर्श कहलिन्छन् । हो आज यिनै नर्सहरुले ति मृत्युसँग जुधिरहेकोहरुलाई जिवन दान दिने कोशिस गरिरहेका छन् ।

प्रकृतीले छेडेको मानव विरुद्धको यो युद्धलाई कोभिड–१९ को नाम दिएको छ । विश्वभर हजारौं सेता बस्त्रधारी सिपाहीहरु कोभिड–१९ सँगको युद्धमा ज्यान गुमाएका रहेकाछन् । हजारौं सिपाहीहरु पनि आफैले उपचार गरेर जिवन बचाएको विरामी सुतेकै बेडमै कोभिड–१९ सँग लडिरहेकाछन् र चिच्याइरहेकाछन् सरकार तिम्रा बम, बारुद, गोली र राइफल अनि त्यो युद्धपोत र लडाकु विमानहरु कहाँ छन् डाकिदिनोस् कतै मलाई बचाउछन् सक्छन की । ति हजार्रौ माइल टाढा प्रहार गर्न सक्ने क्षेप्यस्त्रहरु कहाँ छन् किन यती नजिकै आएर यि युद्ध पिचासु कोभिड–१९ लाई लात हान्न सक्दैनन् यिनै प्रश्न गर्दे छटपटाई रहेकाछन् ।

ति हजारौं सिपाहीहरु १/२ घन्टा मात्र अस्पतालको चिसो छिडीमा सुतेर रातभर जाग्रम बसेर कोभिड–१९ सँग लडिरहेकाहरु, आग्रह गरिरहेका छन् मेरो सुरक्षाको लागी चाहिने ति मास्क, पन्जा, पिपिई दिनोस्, म १ बाँचे भने अरु १०० लाई बचाउछु । मेरो परिबार नभेटेको आज हप्तौ भयो । केही पर मात्र मेरो घर परिबार छ तर होटलमा बसीरहेकोछु । म मरे पनि मेरो परिबारलाई मैले सुरक्षित राख्नु परेकोछ । मलाई उनीहरु घरमा पर्खि बसिरहेकाछन् । यो युद्ध जितेर म फेरी हासी खुसी परिबारसँग रमाउन मन छ । यसरी यि सेता बस्त्रधारी सिपाहीहरु युद्धमा होमिएकाछन् । विचरा विश्वको सुरक्षाको जिम्मा लिएको हुँकार दिनेहरु, मात्र, मात्र ति सेता बस्त्रधारी सिपाहीहरुलाई जोगाउने एउटा मास्क, पन्जा अनि पिपिई दिन नसकेर मुन्टो निहुराएकाछन्, लज्जाबोध गरिरहेकाछन् आफुलाई निरिह सावित गरिरहेकाछन् ।

अन्त्यमा विश्वका सरकारहरुलाई अनुरोध गर्न चाहान्छु ति करोडौं लगानी गरेको तिम्रो खाँकी बस्त्रधारीहरुलाई भोली फेरी आउने यस्तै युद्धमा लड्न सेता बस्त्रधारी बनाउँ । ति हजारौं व्यारेकहरुलाई युद्धको किल्लाको रुपमा अस्पताल बनाउँ । बम, बारुद, गोली र राइफललाई जलाएर पन्जा, मास्क, पिपिई लगाएतको युद्धसँग लड्ने साधनको जोहो गरौं । हजारौ माईल हान्ने क्षेप्यस्त्र होइन् सानो सुईले छेक्न सक्ने किट तयार पारौ । ति युद्ध विमान, पोत होइन विरामी राख्ने बासस्थान बनाउँ । लाग्छ तिम्रो एउटा क्षेप्यस्त्रको खर्चले करोडौं मास्क, पन्जा, पिपिई बन्नेछ । अनि युद्धमा होमिएका हाम्रा सिपाहीहरुलाई हतियार सहित सुरक्षित पठाउन सक्नेछौं ।

यसरी मानवले मानव विरुद्ध हुन सम्भावित युद्ध रोकीने छ भने मानब विरुद्ध हुने यस प्रकारको युद्धहरु सहजै जित्न सक्नेछौं । अनि जिवन, परिबार अनि व्यक्तिगत सुरक्षाको ग्यारेन्टी विना, विना हतियार लडाईमा खटाईएका मानवरुपी भगबान सेता बस्त्रधारी सिपाहीहरुलाई कोटी कोटी प्रणाम गर्दछु । यिनै सिपाही सँगै बसेर साथमा साथ काधमा काध दिनुहुने प्रहरी, स्वयेमसेवक, अस्पतालमा सफा गर्ने मित्रहरु, एम्बुलेन्सका चालकहरु, घरघरमा समान पुर्याईदिने वीरहरु, खाना तथा तरकारी बजारमा खटिनेहरु सबैलाई तपाईको बहादुरी पूर्ण कामको लागी सलाम छ ।

मनोज कुमार कँडेल
(अधिबत्ता/बाल अधिकारकर्मी)

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख