४ भाद्र २०७९, शनिबार

गरिब हुनुको पिडा

मनोज कुमार कँडेल,

रामेछापको एउटा कुनामा जन्मेको म जहाँ माध्यमिक स्कूल समेत थिएन । टोकरपुर गाँउ आफैमा अति शुन्दर, दुई खोलाले घेरीएको, शैलुङमुनीको त्यो गाँउ, गाँउको शिरानमा जंगल, पुछारमा सुन्दर धान खेतको त्यो हरियाली फाँट, अति सुन्दर र मनोरम निरन्तर सुसाई रहेको दुई खोला । लाग्छ म स्वर्गमा जन्मे, हुर्के ।

कक्षा ७ को परीक्षा पछि माध्यामिक शिक्षाको पढाईको लागी नजिकैको गुन्सीभदौरे गाँउमा अबस्थित माध्यमिक स्कूलमा भर्ना भए, मेरो गाँउबाट खोला, नाला, जंगल हुर्दै सुन्दर फाँटहरुको मनोरम दृश्यको दृश्यस्वादन गर्दै ३ घन्टाको हिडाई पछि पुगिने त्यो गाँउ आफैमा सुन्दर थियो । गाँउको विचमा स्कूल, स्कुल बरीपरी त्यो सल्लाको सुसाई र कलकल बग्ने त्यो धारा, मिजासिला छिमेकीहरु, केही हप्ताको बसाईमा त्यो गाँउले पनि मलाई मोहनी लगाएको थियो । म सँग मेरो गाँउकै साथी विष्णु र म प्रत्येक हप्ता गाँउ फर्किने र १ हप्ताको लागी रासन बोकेर होस्टेलमा रमाउथ्यो । आज ३३ बर्ष भयो मैले त्यो गाँउबाट छुट्टीएको । 

आज म सुख र संमृद्धीको खोजमा निस्केको ३३ बर्ष पछि एउटा कोठामा थुनिएकोछ । म आफुलाई सबभन्दा भाग्यमानी लाग्छ किनकी मसँग एउटा मध्यम बर्गिय व्यक्तिको रुपमा जीवन निर्बाहको लागि चाहिने सबै साधन छन् । विहान देखी बेलुका सम्म न्यूज हेर्ने, विश्वमा कति मान्छे मरे, गन्ने अनि आफु बाँच्नको लागि कोठामा लकडाउनमा रहने मेरो १५ दिन देखीको दैनिकी भएकोछ ।

जव म समाचारहरु विच विचरण गर्छु, ती नेपालीको चिच्याहाटले कान बन्द गर्न पुग्छु । सम्झीन्छु देशमा अत्यधिक बहुमतको सरकार छ त्यो पनि कम्युनिष्ट विचार र सिद्धान्तबाट प्रशिक्षित । दशकौ जंगल, जेल देखी गाँउ गाँउमा यीनै गरिबहरुलाई सपना बाडेर भूमिगत रहेका आदरणीय लौह पुरुषहरु प्रधानमन्त्री, मन्त्री अनि के के पदले शुसोभित भई चिल्ला कारमा हुइकिएको देख्छु । 

ठूला ठूला समितीहरु बनेको, समितीले ठूला ठूला निर्णयहरु गरेको, अरबौको सुरक्षा सामाग्रीहरु किनेको, अरबौ रकम कोषमा जम्मा भएको, हजारौं क्वरेन्टाइन अनि आइसोलेसन खडा गरिएको समाचारहरुको झंकार पनि सँग सगै गुन्जिन्छन्, लाग्छ ओहो हामी नेपाली कति भाग्यबानी, कती जिम्मेदार, हामीले जिम्मेदारी दिएका लौह पुरुषहरु, आनन्दले मन तरङीत हुन्छ ।

खै कस्सले हो गालामा थप्पड हाने झै लाग्छ, म तर्सिन पुग्छु । मत सपनामा पो रहेको रहेछु । ब्युझन्छु, समाचारहरु लाइन लाग्छन् । एक छाक खान, एक आँङ लाउन अनि ती सुकेनाशे छोराछोरी, श्रीमती अनि कर्मठ बुबाआमा जो एक छाक खान, बाँच्न र बचाउन संघर्ष गरिरहेका एकमात्र साहारा घर कहिले आउला र खाउला भनेर कुरेर बसेका छन् । हो उनीहरु आफ्नो घर जान पाउन विन्ती गरिरहेका जनताहरुलाई देख्छु । हप्तौ भयो रे घर जानको लागि चौरमा सुतेका, अलिकती कमाएर ल्याएको पनि सकियो रे यस्तै रुवाबासीको चिच्याहट सुन्छु त्यो पनि परदेशमा । घर जाउँ देशका सुरक्षाकर्मीहरुले बाटो रोकेका छन् नजाउँ घर गाँउ परिबारको यादले सताएकोछ ।

अरब भन्दा बढि महंगो तिरेर सरकारले समान किन्यो रे, धनीमानीहरुले सबै समानहरुको भाउँ सगरमाथा छुने बनाए रे, प्रधानमन्त्री ज्यूले सम्बोधन गर्नु भयो र,े भन्नु भयो रे यस्तो अभावको बेलामा जसले जे गरेनी पछि सोचौला यस्ता समाचारले फेरी मलाई रिगाटा लाग्यो । एक छिन लामो सास फेरेर सुस्ताए । लाग्यो सिद्धान्त छाद्न र इमान्दार राजनीतिज्ञ हुन अति गाह्रो हुदो रहेछ । 
फेरी लामो सास फेरे, गमे, के ती गरिब हुनु उनीहरुको अपराध थियो ? के गरिबी राजनीतिक मुद्धा मात्र हो ? तिनै गरिब हुन यिनका भोट बैक, यही गरिब हुन तिनीहरुका ईश्वर, जसले आज चिल्लाकार र भव्य महलको रस्वासदन गराएका छन् । फेरी सोचे के ती सिमानामा अनागरीक भएका गरिबको पिडा माथि यो राज्य किन यती कठोर भएको होला ?

यीनको के गल्ती थियो होला ? यिनकै रेमिटेन्सले देश चलेको भनेर कुर्लेको पनि नसुनेको होइन् । साच्चै नै यी १/२ हजार नेपालीलाई राज्यले जिम्मा लिन नसक्ने नै हो त ? धेरै सोचे, त्यस्तो लागेन मलाई । यी १/२ हजार नेपालीलार्ई राज्यले जिम्मा लिएर पालन पोषण गर्न राज्यलाई कति पनि गारो छैन् । मात्र ती राज्यका ढुकुटी चलाउने मस्याहाहरुले चाहान राख्नु पर्छ । किन चाहादैनन् ? किन की ती गरिब हुन । ति विचरा हुन । खै, मैले भेउ पाउन सकीन ।

फेरी अर्को समाचारले मलाई मुर्छित बनायो । एक छिन पछि मुर्छाबाट व्युतिए अनि लामो सास फेरे । समाचार थियो, हाम्रा सम्माननीय राष्ट्रपतिज्यूले अष्ट्रेलियामा रहेका नागरिक प्रति धेरै चासो देखाएनु भएको छ रे । अति राम्रो कुरा प्रशसनिय सोचाई । जुन देशका आफ्ना नागरिकहरु विचल्लीमा परेनि सोच्नु पर्छ राज्यले त्यसको जिम्मा लिनु पर्छ । 

अन्तमा लामो सास फेरे र भन्न मन लाग्यो के अति गरिब हुदाँ राज्यका प्रमुखहरुले चासो देखाउनु नहुने हो र ? सम्मानिय राष्ट्रपति ज्यू, आदरणिय प्रधानमन्त्री ज्यू तपाईले भने जस्तै जनताको ज्यान जोगानु प्राथमिकता हो भने जति पैसा लागोस ति अनागरिक भएर छटपटाई रहेका विचारा गरिब हरुलाई उद्धार गर्नुस र ती पचासौ हजार राख्न सक्ने क्वारेन्टाइनहरुमा ती चौरमा सुतेकाहरुलाई राख्नुहोस् बाँकी कुरा हिसाव गरौला । तपाईको जय गाउनेछन् विचारा ती गरिबहरुले ।

मनोज कुमार कँडेल, भक्तपुर
(अधिबत्ता⁄बरिष्ठ बाल अधिकारकर्मी)

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख