४ भाद्र २०७९, शनिबार

डायस्पोरा अस्थाई तत्व हो, धेरै पुस्तापछि यो त्यहीँको समाजमा विलय हुन्छ तापनि मूल भूमिको पहिचान सधै प्यारो लाग्छ – प्रा. डा. गोविन्दराज भट्टराई

(त्रिभुवन विश्वविध्यालयमा पैँतीस वर्ष अध्यापन पेशामा संलग्न रही सेवा निवृत्त हुनुभएका वरिष्ठ साहित्यकार,भाषाविद्, समालोचक एवं शिक्षाविद्  प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईसंग नेपालको शिक्षा, त्रिवि (त्रिभुवन विश्वविद्यालय) र राजनीति साथै नेपाली साहित्य र विश्वव्यापीकरणको प्रभाव जस्ता विषयमा आधारित रहेर गोर्खा आवाजकी  सबिता लामिछानेले गरेको कुराकानी )

संवाददाता: त्रिभुवन विश्वविद्यालयबाट नै उच्च शिक्षा हासिल गर्नुभो र यहीँबाट अध्यापन कार्यको शुभारम्भ गर्नुभयो । विद्यार्थी  भएर त्रिवि छिर्दा र प्राध्यापक भएर निस्कदासम्मको केही अनुभवहरु बताइदिनु हुन्छ कि ?

प्रा.डा.भट्टराई :   मैले उच्च शिक्षा त्रिविबाटै लिएको हुँ। म एम.एड. सेकेण्ड सेमेस्टरमा अध्ययन गर्दैगर्दा त्रिवि सेवा आयोग खुलेको थियो । त्यतिबेला बि.एड. पास गरेकाले पनि परीक्षा दिन पाइने व्यवस्था थियो । हामीलाई हाम्रा गुरु जयराज अवस्थीले फारम भर्न प्रेरित गर्नुभयो । मैले फारम भरें । त्यतिबेला १२/१५ जनाले निवेदन दिएका थियौँ । ती मध्ये तीन जनाको नाम निस्कियो र एक नम्बरमा गोविन्दराज भट्टराई । यो वि.सं.२०३८ सालको कुरा हो ।  त्यसो त बि.एड. गर्न भनी सेवाकालिन शिक्षकको रूपमा २०३० साल असारमा म काठमाण्डौ पसेको थिएँ । मेरो परिवारमा बुबा बाहेक कसैले काठमाण्डौ देखेको थिएन । पहिलोपटक काठमाण्डौ पढ्न भनेर आउँदा खुशीले भावविभोर भएको थिए। यहि त्रिभुवन विश्वविद्यालय अन्तर्गत लेक्चरर भएपछि आफू कति ठूलो भएको महशुस भयो । त्यतिबेला अंग्रेजी विषयको स्थायी लेक्चरर हुनु सानो कुरा थिएन । एम.एड.को सर्टिफिकेट नलिदै लेक्चरर भएँ । तत्कालै एम.ए.अंग्रेजीको सर्टिफिकेट पनि लिएँ ।

संवाददाता:   शुरुमा कलेजमा लेक्चरर हुँदा र पैँतीस बर्ष अध्यापन गरेर सेवा निवृत्त भएर निस्कदासम्म भएका शैक्षिक अनुभवहरु संक्षेपमा सुनाइदिनुस न ।

प्रा.डा.भट्टराई :   शुरुदेखि नै विद्यालय तहमा अध्यापन गर्दै आएको हुनाले त्यो कुरा मेरो लागि नौलो र जटिल थिएन। मेरो जिन्दगी आफ्नै सिद्धान्तबाट चलेको छ । सानैमा मैले डेल कार्नेजीको “How to win friends and influence people”  भन्ने  पुस्तक पढ्ने क्रममा मैले पढेको एउटा वाक्य सदाको लागी कण्ठ गरेको थिएँ- “Everyday is new life to wise man.” (अर्थात्, बुद्धिमान मानिसका लागि हरेक दिन नयाँ जीवन हो ।) मैले यही कुरा आफ्नो सिरानीमाथि भित्तामा टाँसेर राखेको थिएँ। हरेक दिनलाई नयाँ बनाउने प्रयास गर्थें । मेरो सधै जप्ने मन्त्र नै यही थियो । पढ्न र पढाउन मलाई अत्यधिक मन पर्छ । पूर्व मेची – कोशीमा र काठमाण्डौमा अंग्रेजी विषयका राम्रो लेक्चरको रुपमा मलाई चिन्दथे। अध्यापन गराउदा सधै माथिको कुरा सुन्नुपर्ने । कोर्ष दुई/तीन वर्षमा फेरिएको फेरियै गर्ने, यावत् समस्या भएपनि मलाई बोझिलो अनुभव कहिल्यै भएन। सधै म आकर्षित रहेँ । सधै पेशाप्रति आकर्षण हुँदाहुदै नै म अध्यापन पेशाबाट निवृत्त भएँ ।

संवाददाता:  तपाईंले अध्यापन गर्दाको समय र अहिलेको शिक्षाको अवस्था कस्तो छ ?  शैक्षिक गुणस्तरतामा के-कस्ता परिवर्तन आएका छन् ?

प्रा.डा. भट्टराई : तल्ला कक्षामा त मैले अध्यापन नगरेको धेरै भयो। उच्च शिक्षामा भने सेमेस्टर सिस्टम छ,  राम्रो छ । मैले पनि सेमेस्टर सिस्टम नै पढेको हुँ । हामीले पढ्दा शैक्षिक सामाग्रीहरु प्रयाप्त मात्रामा थिएनन्। हामीले खोजेर पढ्नुपर्थ्यो । गुरुहरुले जुटाइदिनुहुन्थ्यो। थोरै सामाग्री धेरै उत्साहले पढ्थ्यौ । अहिले प्रविधिले सामाग्रीहरु जुटाइदिन्छन ।अहिले मोबाइल, ट्याब, ल्यापटप हुँदापनि त्यसरी ध्यान केन्द्रित भएजस्तो लाग्दैन । त्यसो प्रविधिका अनेक पक्षले उनीहरुको मनलाई विचलित गराइरहेको हुन्छ । यसो हुँदा हाम्रै पालामा राम्रो थियो कि भन्ने पनि लाग्छ नै ।

संवाददाता:  वर्तमान समयमा विज्ञान र प्रविधिले शिक्षामा कस्तो प्रभाव पारेको छ ?

प्रा.डा.भट्टराई :   विश्वलाई हेर्ने हो भने ९०% भन्दा बढी शिक्षा प्रविधिबाट चलाइएको छ । हाम्रो पालामा आफै खोज्ने पढ्ने, घोक्ने हुन्थ्यो। यसकारण सोधिएका जस्तोसुकै प्रश्नको पनि सहज उत्तर दिन सकिन्थ्यो। अहिले विद्यार्थीले स-साना सरल प्रश्नको जवाफ पनि मोबाइल ल्यापटप नहेरी दिन सक्दैनन । प्रविधिले अहिलेको शिक्षालाई धेरै हदसम्म परावलम्बी बनाइदिएको छ । विद्यार्थी आफैमा सक्षम नभएका होइनन् तर उनीहरुको क्षमतालाई प्रविधिले धेरैतिर निषेधित गरिदिन्छ जस्तो लाग्छ ।

संवाददाता:  आउँदा दिनहरुमा नेपालको शिक्षा क्षेत्रमा के-कस्ता सम्भावनाहरु अनुमान गर्न सकिन्छ ?

प्रा.डा.भट्टराई :   पहिला नेपालको शिक्षालाई लिएर मात्र हेरे पुग्थ्यो भने अहिले त्यसो छैन। भारत अमेरिका, अस्ट्रेलिया बेलायत वा चाइनाका विद्यार्थीले के पढ्दै छन् भन्ने कुरालाई हेरेर कोर्ष बनाइन्छ। यस्तो किन हुन्छ भने अन्य देशमा अध्ययन गरेर आएका गुरुहरुले सामाग्री पनि सँगै लिएर आउछन् अथवा यहीँ बसेर पनि गुगल मार्फत वर्तमान विश्वको ज्ञान लिन्छन् र सोही अनुसार कोर्ष तयार हुन्छ । त्यसकारण यहाँ एक प्रकारको मिश्रण जस्तो बनेको छ। कोर्षमा मौलिकता कम छ। विश्व जुन बाटोमा दौडिएको छ, हामी त्यही बाटो पछ्याइरहेका छौँ । हाम्रो आफ्नो मात्र सूत्र छैन, आफ्ना मौलिकतालाई सूत्रबद्ध गर्न सक्ने कला पनि छैन । हाम्रा निर्णयहरु अत्यन्तै कम छन् । हामी पछाडि लाग्ने काममा सँधै अगाडि छौँ।

संवाददाताः त्रिविमा बढिरहेको राजनैतिक प्रभाव र यसका दूरगामी असरहरु के-के हुन सक्छन ?

प्रा.डा.भट्टराई:    त्रिविमा अहिलेमात्र राजनीति भएको होइन । विगत लामो समयदेखि यहाँको राजनीति यसैगरी हुँदै आइरहेको छ। वास्तवमा त्रिवि नै देशका राजनीतिको प्रतिविम्ब हो । अहिलेका धेरै नेताहरू यही पृष्ठभूमिबाट गएका छन् । बन्द हड्ताल गुण्डागर्दी यहाँ पहिलेदेखि नै थियो, हामीले झन धेरै भोग्यौँ। हिजो चिट चोर्न, आगो लगाउन गुण्डागर्दी गर्न सिकाउने विद्यार्थीहरु मात्र होइन, शिक्षक कर्मचारीका संगठनहरु पनि त्यत्तिकै उग्र थिए र छन् पनि। हाम्रो जस्तो अस्थिर राजनीति भएको देशमा यो भन्दा धेरै स्थिरताको अपेक्षा गर्न सकिदैन । यो पहिला पनि थियो अहिले पनि छ, पछि कम हुँदै जाला भन्ने आशा छ । कामधन्दा केही नगरी मुड्की बजारेर बस्नेहरु विद्यार्थी नेता भएका छन् । विद्यालय राजनीतिमा चलेको छ। सबै राजनैतिक डोरी समातेर आउछन् । भर्नादेखि छात्रावृत्तीसम्मका सबै काम गुण्डागर्दीमा चल्छन्। मैले इन्डियाबाट पि.एचडि गरेको हुँ। त्यहाँ चुनाव विषयमा यहाँको जस्तो हुन्थेन। भोलि चुनाव छ भने आजसम्म पढाई भैरहेको हुन्थ्यो। भोट हाल्ने समयमा इच्छा र समय हुनेहरु भोट हाल्न जान्थे। बाकी आफ्नो पढाइमा हुन्थे। यहाँ चुनावको दुई-तीन महिना अघिदेखि नै हंगामा शुरु हुन्छ।

संवाददाताः तपाईंको कार्यकालमा त्रि वि मा राजनैतिक प्रभाव कस्तो थियो ?

प्रा.डा.भट्टराई:    मैले २०३० सालमा त्रिवि प्रवेश गरे र २०७२ सालमा सेवा निवृत्त भएँ । यी ४२ वर्षको धेरै समय सधै चिन्ता र भयको तानातान र संघर्षले बिते। त्रिविको स्थितिलाई सधै अस्थिर राख्ने तत्व विद्यार्थी नेताहरु हुन। उनीहरु राजनीति गर्ने ठुला नेताका हतियार बनेर अरु माथि पड्किन्छन। उनीहरु प्रशासनलाई तर्साएर शिक्षकलाई तर्साएर ९०% सिदासादा विद्यार्थीलाई तर्साएर राजनीति गर्छन् । त्यसो त उनीहरु पनि देशकै अन्योलपुर्ण वातावरण र अराजकताका उपज हुन् तर पढ्ने होइनन्। २० वर्षमा विद्यार्थी राजनीतिमा पसेर ५० वर्षसम्म विद्यार्थी नै रहन्छन्। मैले नौ वर्ष प्रशासनमा पनि काम गरें। एकपटक विद्यार्थीको रिजल्ट राम्रो आएन। सबै पास भएनन् भनेर विद्यार्थीहरुले आगो लगाए। धेरै सामानहरु जलेर नस्ट भए। हामी बल्लतल्ल बाच्यौँ। यस्तो आतंक गाथालाई मैले विश्वविद्यालयमा अग्निपूजा भन्ने निबन्ध संग्रहमा लेखेको छु। म ती दिनमा विभागीय प्रमुख थिएँ। त्यसैगरी अघिल्लो प्रा. अभि सुवेदी प्रमुख हुँदा अंग्रेजी विभागमा आगो लगाइएको थियो । सबै सामाग्रीहरु जलेर खरानी भयो। त्यसै विषयवस्तुलाई आधार मानेर उहाँले अग्निको कथा शिर्षकमा नाटक लेख्नुभयो। यी दुई साहित्यिक कृतिले त्रिवि को ६० वर्षे इतिहासमा विद्यार्थी शिक्षक सम्बन्धको कथा बताउने छ्न् । तपाइँहरू पनि पढ्नु होला ।

संवाददाता :     नेपाली साहित्यमा विश्वव्यापिकरणको प्रभाव कस्तो परिरहेको छ, बताइदिनु न ।

प्रा.डा.भट्टराई :   पछिल्लो समयमा नेपाली साहित्यमा विश्वव्यापीकरणको गहिरो प्रभाव परिरहेको छ। यसको मुख्य कारण भनेको नेपालीहरुको निरन्तर बहिर्गमन नै हो । हाम्रो यहाँबाट दुई प्रकारले नेपालीहरु विदेशिएका छन्। एउटा त रोजगार पढाइ इत्यादिका लागी जाने युवावर्ग भैहाले, अर्को तेल भिसा भन्ने छ। जसमा छोराछोरी भेट्न जाने नातिनातिनाको स्याहारसुसार गर्न जाने बाआमाहरु पर्छन् । उनीहरुले यहाँबाट जाँदा केही लिएर जान्छन भने फर्कदा पनि केही लिएर फर्कन्छन । नेपालको कुरा गर्दा यहाँका धेरै मानिसहरु लेखक बनेका छन् त्यसमा पनि यात्रासंस्मरण लेखकहरु धेरै छन् जस्तै प्रा. मोहन भण्डारीले विश्व यात्राबारे महाकाव्य लेखेर पुरस्कार पाए, दक्षेरा शर्माले “कंगारुको देशमा दश महिना लेखेर पुरस्कृत भए। यस्ता असंख्य उदाहरण छन । पोहोर मात्रै हाम्रा खिमानन्द पोख्रेल ज्यूले  एउटा यात्रा विषेशाङ्क प्रकाशित गराएका थिए । त्यसमा पैंतिस लेख विदेशी यात्राका र बाँकी पन्ध्र मात्र नेपाल भित्रका यात्रा विवरण थिए। यसबाट के प्रष्ट हुन्छ भने विदेशी कुराहरु, अनुभवहरु, विचारहरु धेरै आइरहेका छन । त्यसो भएतापनि हाम्रा सिर्जनात्मक कर्महरु हाम्रै पाठकमा मात्रै सिमित छन । अन्य भाषाका पाठकले बुझ्ने गरेर नेपाली साहित्यलाई सरलीकरण गरी  विश्व साहित्यमा लगिएको भने छैन। नेपाली साहित्य विश्वको लागि रच्न सकिएको छैन । त्यतिमात्र होइन नोबेल पुरस्कार पाउने पुलित्जर पुरस्कार पाउने लेखकहरु भएका देशमा हामी जान्छौं तर त्यसको प्रभाव बोकेर ल्याउदैनौँ । हामीमा अध्ययनशीलता अत्यन्तै कम छ। अनि आदानप्रदान छैन।

संवाददाता:  साहित्यमा विश्वव्यापीकरण हुँदै गर्दा नेपाली भाषामा के-कस्तो असर परिरहेको छ ?

प्रा.डा.भट्टराई :   अमेरिका, अस्ट्रेलिया हंकङ्मा नेपाली भाषाका स्कुल खुलिसकेका छन। बेलायतमा खोल्दैछन् । अन्य ठाउमा पनि नेपाली भाषाका पत्रपत्रिका निकाल्ने पुस्तक प्रकाशन गर्ने, नेपाली भाषामा कार्यक्रम गर्ने काम भैरहेका  छन । मोतीजयन्ती, भानुजयन्ती, लक्ष्मीजयन्ती कार्यक्रम गर्ने काम पनि भई नै रहेको छ। ठूलाठूला अन्तराष्ट्रिय सम्मेलनहरु पनि भैराखेका छन । देशमा नलागेको तिर्खा देश बाहिर जाँदा लाग्छ । त्यसैले गर्दा डायस्पोराको स्वाद भएको साहित्यको सिर्जना व्यापक छ । त्यसमा नै द्वैध भावना र पुर्वस्मृतिको बतास निरन्तर चलिरहन्छ । नेपाली भाषा बोल्नेहरु विश्वस्तरमा एकजुट हुँदै जाने सङ्गठित हुँदै जाने हो भने नै नेपाली भाषाको विकास हुन सक्छ, पहिचान हुन सक्छ। विश्वव्यापीकरणलाई, भाषिकालाई प्रभाव पार्ने भएकाले भाषिकाको संरक्षण भने देशभित्र नै हुनुपर्छ । वास्तवमा नेपाल भित्र भन्दा पनि नेपाल बाहिर पुगेका अनेक भाषाभाषीहरुले नेपाली भाषालाई बलियो बनाउन धेरै ठूलो योगदान गरेका छन। गत भाद्र महिनामा मलाई बेलायत जाने अवसर प्राप्त भयो त्यसमा सत्रवटा संस्थाका बेग्लाबेग्लै साहित्यिक कार्यक्रममा भाग लिने अवसर मिल्यो । यसरी नेपाली साहित्यप्रति अनेक डायस्पोराका नेपालीहरुको योगदान अमुल्य छ ।

संवाददाता:     डायस्पोराको बारेमा पनि केही भनिदिनुस् न ।

प्रा.डा.भट्टराई :   देश छोडेपछि देश प्रेमको महशुस हुन्छ। यहाँबाट हामीले अलिकति संस्कृतिको बिउ बोकेर लैजान्छौं र डायस्पोरा त्यसैमा बस्दछ । यो भनेको मलिलो ठाउँको बिरुवा उखेलेर विजातीय जमिनमा सारेजस्तै हो। विदेशी भूमिमा हामीले सोचेजस्तो सजिलो छैन । तर पनि त्यहाका नागरिकहरुले त्यो देशको कानुन भूगोल इतिहास समाज विज्ञान आदिका सिमाहरुको सम्मान गर्दै आफ्नो देशको पनि भाषा, साहित्य, सुरक्षित गर्ने प्रयत्न गरेका छन् । डायस्पोरा अस्थायी तत्व हो धेरै पुस्तापछि यो त्यहीको समाजमा विलय हुन्छ तापनि मूल भूमिको पहिचान सदैव प्यारो लाग्छ ।

संवाददाता:      उच्च शिक्षा अध्ययन गर्दै गरेका विद्यार्थीहरुलाई डिजिटल पत्रिका गोर्खा आवाज मार्फत के भन्न चाहानुहुन्छ ?

प्रा.डा.भट्टराई :   अहिलेको शिक्षा नसल्काइएको दियो जस्तै छ । विद्यार्थी सर्टिफिकेटमुखी भएर अध्ययन गरिरहेका छन । अहिलेका विद्यार्थीमा अध्यनशिलता अत्यन्तै न्यून छ । विद्यार्थी अध्यनशिल हुनुपर्दछ । उपयोगी किताबहरु छनौट गरेर अध्ययन गर्नुपर्दछ । जस्तोसुकै किताबमा समय खर्च गर्नुहुँदैन। आफैमा निर्भर हुन सक्ने ज्ञान आर्जन गर्नुपर्दछ । विश्वस्तरका किताबहरु पढ्नु पर्दछ र पढ्ने आदत बनाउनुपर्छ। आफ्नो सबैभन्दा असल मित्र आफै हो भन्ने कुरा मनन् गर्नुपर्छ।

संवाददाता:       डिजिटल पत्रिका गोरखा आवाजको लागि बहुमूल्य समय उपलब्ध गराइदिनुभएकोमा हार्दिक धन्यवाद ।

प्रा.डा.भट्टराई : यहाँलाई पनि धेरै धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख