२ भाद्र २०७९, बिहीबार

घट्दै छ ब्रान्डेड इलेक्ट्रोनिक्स कम्पनीको मुनाफा

पछिल्लो समय ब्राण्डेड इलेक्ट्रोनिक्स समानहरु उत्पादन गर्ने एप्पल, लेनोभो, सामसुङ लगायतका इलेक्ट्रोनिक्स कम्पनीको नाफामा गिरावट आएको छ । यसैको पछिल्लो सिलसिलामा सामसुङ इलेक्ट्रोनिक्सको अन्तिम चौमासिकमा नाफा २९ प्रतिशतले घटेको जनाइएको छ । पछिल्लो दुई वर्षमा कम्पनीको नाफामा यो सबैभन्दा उच्च गिरावट हो । सुलभ एवं सस्ता चिनियाँ स्मार्टफोन निर्माता कम्पनीहरुबाट सिर्जित बढ्दो प्रतिस्पर्धा तथा पछिल्लो समय स्मार्टफोनको मूल्यमा भारी गिरावट आएका कारणले गर्दा सामसुङको नाफा घटेको बताइएको छ ।

गएकाे अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा कम्पनीको सञ्चालन खर्च करिब ९ अर्ब ८० करोड अमेरिकी डलर हुने अपेक्षा गरिएको थियो । यो अघिल्लो वर्षको तुलनामा २८ दशमलब ७ प्रतिशतले कमी हो ।

गएकाे साता मात्रै आइफोन समेतका विद्युतीय उपकरण निर्माता एप्पल कम्पनीको बिक्री घटेको रिपोर्ट सार्वजनिक भएको थियो । अमेरिका–चीनबीचको व्यापार युद्धसँगै एप्पलले चीनमा आफ्ना उत्पादनको बिक्रीको प्रक्षेपण घटाएको थियो ।

पढ्नुहोस् :-

एप्पलको शेयरमा भारी गिरावट

विश्वमै सबैभन्दा बढी स्मार्टफोन र मेमोरी चिप्सको उत्पादन गर्ने सामसुङले केही वर्षयता उच्च मुनाफा आर्जन गरिरहेको थियो । कम्पनीबाट उत्पादित केही बस्तुहरुमा समस्या देखिए पनि सामसुङको बजारमा खासै असर परेको थिएन ।

दक्षिण कोरियाको समग्र अर्थतन्त्रमै प्रभाव पार्ने सामसुङ इलेक्ट्रोनिक्सको बजार खुम्चिएसँगै शेयर बजारमा पनि प्रभाव परेको छ । मङ्गलबार सामसुङको शेयर कारोबारमा ०.५ प्रतिशतले कमी आएको छ ।

सामसुङका अनुसार यस अवधिमा बिक्रीमा १० प्रतिशतले कमी आएको छ । कम्पनीले खासगरी मेमोरी चिप्सको बिक्री सुस्ताएको कारण नाफामा व्यापक कमी भएको जनाएको छ । मेमोरी चिप्सको व्यापारमा देखिएको कठिन परिस्थितिका कारण सन् २०१९ को पहिलो चौमासिकमा कम्पनीको आम्दानीमा कमी आउनेछ ।

गत साता एप्पलले अक्टोबर–डिसेम्बरको त्रैमासिक अवधिमा ८४ अर्ब डलर आम्दानी गर्ने अपेक्षा गरेको थियो । वर्षको शुरुमा एप्पलले यस अवधिमा ८९ देखि ९३ अर्ब डलर आम्दानी गर्ने प्रक्षेपण गरेको थियो । एप्पलले चीन, भारत एवं अन्य उदीयमान अर्थतन्त्र भएका मुलुकमा आएको सुस्तीले कम्पनीको आम्दानीमा प्रभाव परेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख