२ भाद्र २०७९, बिहीबार

मनाङ मर्स्याङ्दी लिग च्याम्पियन, संकटा बन्यो उपविजेता

सहिद स्मारक ए डिभिजन लिगमा दुई खेल बाँकी छँदै च्याम्पियन बनिसकेको मनाङ मर्स्याङदी क्लबले मंगलबार ट्रफी चुम्दै छ ।

मंगलबार (आज) फ्रेन्ड्स क्लब विरुद्ध हुने अन्तिम खेलको नतिजाले उसलाई फरक पर्ने छैन । तर त्यो खेल पनि जितेको खण्डमा मनाङले शतप्रतिशत जितको एउटा कीर्तिमान राख्नेछ । मनाङका प्रशिक्षक सुमन श्रेष्ठले पनि लिग जितिसकेको अवस्थामा शतप्रतिशत जितको कीर्तिमानका लागि खेल्ने बताए ।

लिगमा शतप्रतिशत जित निकालेर ३६ अंक पाइसकेको मनाङ अब एक मात्रै जितबाट टाढा छ । जारी लिगमा फ्रेन्ड्सको कमजोर प्रदर्शन भइरहँदा मनाङका लागि कीर्तिमानी यात्रा सजिलो बन्ने आशा गरिएको छ ।

पुरस्कार राशि घटेको तथा रेलिगेशनको व्यवस्था हटेको जस्ता विभिन्न विवादकाविच पाँच वर्षको अन्तरालमा एन्फाको आयोजनामा गत असोज १३ गतेदेखि सुरु भएको ए डिभिजन लिग ३ महिना १० दिनपछि मंगलबार सकिने छ ।

लिगमा शीर्ष ६ टोलीलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । लिगको विजेता मनाङले ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ । दोस्रो स्थान सुरक्षित गरेको संकटाले ३५ लाख, तेस्रो भएको थ्रीस्टारले २५ लाखमा चित्त बुझाउने छन् ।

त्यसैगरी, व्यक्तिगततर्फ उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, उत्कृष्ट गोलरक्षक र प्रशिक्षकलाई समेत जनही एक एक थान मोटरसाइकल पुरस्कार दिइने छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख