२ भाद्र २०७९, बिहीबार

ढोरपाटन सिकार आरक्षमा विदेशी सिकारीको ओइरो – यसरी गरिन्छ सिकार

बाग्लुङ्ग – ढोरपाटन आरक्षबाट धौलागिरिका अतिरिक्त गुर्जा र सिस्ने हिमालका मनमोहक दृश्य देख्न सकिन्छ। समुद्र सतहबाट पाँच हजार मिटरभन्दा माथिका क्षेत्रमा नाउर पाइन्छन्। तीन हजार तीन सय मिटरभन्दा माथिल्लो भेगमा झारल पाइन्छन्।

हिमाली क्षेत्रमा भएकोले ढोरपाटनमा विदेशी सिकारीहरूले विश्वका अन्य देशमा भन्दा फरक अनुभूति गर्ने गरेका छन्। उच्चपहाडी क्षेत्रको अति कठिन क्षेत्रमा बस्ने नाउर र झारलको सिकार गर्नु पर्ने भएकोले ढोरपाटन विश्वभरिका साहसी सिकारीको प्रमुख रोजाइमा पर्न थालेको छ।

यहाँ नाम चलेका सिकारीहरू आउने गरेका छन् । ढोरपाटन आरक्षले दिएको जानकारी अनुसार गत आर्थिक वर्षमा २० जना सिकारीहरू ढोरपाटन आएका थिए भने यो वर्ष त्यो सङ्ख्या अझै बढ्न सक्ने अनुमान छ। सबैको ध्येय एउटै हुन्छ – ‘हिमाली ट्रफी’ अर्थात् आखेटोपहार लैजाने। ट्रफी सिकारीहरू हिमाली क्षेत्रमा सिकार खेल्न सफल हुनुलाई’हिमाली ट्रफी’ जितेको मान्ने गर्छन्। सफल सिकारीहरूले तोकिएको रकम तिरेर सिकारको टाउको लैजान पाउछन्। विफल सिकारीहरू रित्तै हात फर्कन्छन्।

कसरी गरिन्छ सिकार?

ढोरपाटनमा प्रत्येक वर्ष दुई ऋतुमा सिकार गर्न पाइन्छ।
सिकारका लागि २० वटा नाउर र ११ वटा झारल छुट्याउने गरिएको छ। पन्ध्र दिनको सिकार अनुमतिसहित नाउर र झारलको खोजीमा जाने सिकारीहरूले नियमानुसार पानी पिउने बेलामा, साँझ र बिहान, पासो थापेर वा भाले र पोथीबीच शारीरिक सम्पर्क भएका बेला सिकार गर्न पाउँदैनन्। सिकारीले ल्याएका हतियार र गोलीको अनुमति लिएपछि मात्र उसले आरक्षमा प्रवेश गर्न पाउने कानुनी प्रावधान छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका अनुसार सफल सिकारीले सिकार गरिएको झारलको सिङसहितको टाउको र छाला विभागको अनुमति लिएर मात्रै आफ्नो देश लैजान पाउँछन्। नाउरको आखेटोपहार लैजान साइटिस अर्थात् सङ्कटको सूचीमा रहेका वन्यजन्तु तथा वनस्पतिबारेको अन्तर्राष्ट्रिय महासन्धिसँग सम्बन्धित कार्यालयको अनुमति आवश्यक पर्छ। केही सिकारीले आखेटोपहार घाममा सुकाएर आफूसँगै र केहीले कम्पनीमार्फत् पछि लैजाने गरेका छन्।
भौगोलिक रूपमा अतिविकट क्षेत्र रहेकाले सिकारका लागि आउने अधिकांश पर्यटकहरू हेलिकप्टर चार्टर गर्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख