२ भाद्र २०७९, बिहीबार

गायिका विष्णु माझी पुगिन् स्याङ्जा प्रहरी कार्यलय

स्याङ्जा — नेपालको चर्चित तथा उत्कृष्ट लोक गायिकाहरू मध्येकी सबैभन्दा बढी रुचाइएकी गायिका विष्णु माझी श्रीमान सुन्दरमणिको साथ आइतबार करिब ११ बजे जिल्ला प्रहरी कार्यालयमा पुगेकी थिइन। कान्तिपुरले माझी गुमनाम रहेको समाचार प्रकाशित गरेपछि प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको निर्देशनपछि एसपी राजकुमार लम्सालको सक्रियतामा माझी दम्पती जिल्ला प्रहरी आइपुगेका हुन्।

गायिका विष्णु र सुन्दरमणि आएसँगै विष्णुकी बहिनी जीवन, दाजु बाबुराम, बाबु ताराबहादुर र आमा धर्मकुमारी पनि सँगै आइन्। एसपी लम्सालले सुन्दरमणिको फोन नम्बर खोजेर सम्पर्क गरेपछि उनीहरू प्रहरी कार्यालय आएका थिए।‘सुन्दरमणिलाई बिहीबार फोन गरेको थिएँ’ एसपी लम्सालले भने, ‘विष्णुजी आउनुहुन्छ कि तपाईँले ल्याउनुहुन्छ? यदि तपाईँले नल्याए हामीले ल्याउनु पर्ने हुन्छ भनेको थिएँ। सुन्दरमणिले शुक्रबार र शनिबार व्यस्त भएकाले आइतबार आउने वचन दिएका थिए, आए।’ कान्तिपुरले समाचारमा विष्णु गुमनाम रहेको र बाबुसँग पनि ११ वर्षदेखि भेट नभएको उल्लेख गरेको थियो। कतिपय सञ्चारमाध्यमले सुन्दरमणिले बन्धक बनाएको आशङ्कासमेत गरेका थिए।

विष्णु, सुन्दरमणि र विष्णुको परिवारसँग प्रजिअ निरौला, एसपी लम्साल, प्रमुख प्रशासकीय अधिकृत यादवराज शर्मा र राष्ट्रिय अनुसन्धान प्रमुख रोशन केसीसहितले छलफल गरेका थिए। सुन्दरमणिसँगै बसेका विष्णुले छलफलमा थोरै मात्र बोलेको र प्रश्नहरूको उत्तर सुन्दरमणिले नै दिने गरेको बताइएको छ।

त्यहाँ आउनुअघि नै मिडियासँग कुरा नगर्ने बताएकाले मिडियालाई भने छलफलमा सहभागी गराइएको थिएन। छलफलका क्रममा सुन्दरमणिले आफ्नो छुट्टै एउटा लक्ष्य भएकाले सार्वजनिक नभएको बताएका थिए। एसपी लम्सालले भने, ‘विष्णुजी त्यति खुल्नु भएन। गाउँले भाषामा नै केही थोरै जवाफ मात्र दिनुभयो। सुन्दरमणिले भने अन्तरजातीय विवाहमा छुटाउन खोजेकाले गुमनाम जस्तै हुनुपरेको बताउनुभयो।’

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख